३० चैत, काठमाडौ । नेपाल सुपर लिग (एनएसएल) २०२५ मा आज सुपर स्याटर्डे अन्तर्गत दुई खेल हुँदैछ । एनएसएलमा यो दोस्रो डबल हेडर डे हो ।
आज झापा एफसी र पोखरा थण्डर्स तथा बुटवल लुम्बिनी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ ।पोखरा र झापाबीचको पहिलो खेल दिउँसो २ बजे सुरु हुनेछ । यसअघि दिउँसोको खेल साढे २ मा भएपनि दुई खेलबीचको ग्याप मिलाउनका लागि दिउँसो हुने खेलको समय अघि सारिएको आयोजकले जनाएको छ ।टेबलको बटम हाफमा रहेका पोखरा र झापा आजको खेल जित्दै शीर्ष चार भित्र इन्ट्री मार्ने दाउमा छन् । तर दुवै टिमले यस सिजन एकरुपको प्रदर्शन गर्न सकेका छैनन् ।चार खेलबाट ४ अंकसहित पोखरा पाँचौ स्थानमा छ भने ३ खेल मात्र खेलेको झापा ३ अंकसहित छैटौं स्थानमा छ । झापाले अपराजित यात्रा कायम राखेपनि खेल जित्न भने सकेको छैन । झापाले यस सिजन खेलेको सबै खेल बराबरी गरेको छ र अझै पहिलो जितको खोजीमा छ ।पोखराले भने सुरुवाती दुई खेलमा चितवन र ललितपुर सिटीसँग हार व्यहवरेपनि त्यसपछि काठमाडौंलाई हराएर पहिलो जित निकालेको थियो तर पछिल्लो खेलमा धनगढीसँग बराबरी खेलेको थियो ।उता झापाले बुटवल लुम्बिनी र काठमाडौं रेजर्ससँग गोलरहित बराबरी खेल्दा चितवनसँग १-१ को बराबरी खेलेको थियो ।











