रूपन्देही, वैशाख २५।
दलित समुदायको पहिचान, संघर्ष, बौद्धिकता र योगदानलाई उजागर गर्ने उद्देश्यसहित रूपन्देहीको तिलोत्तमा नगरपालिकामा ‘दलित ज्ञान उत्सव २०८२’ आयोजना हुने भएको छ। आगामी वैशाख २६ र २७ गते तिलोत्तमा–१०, नयाँमिलस्थित होटल स्वानमा हुने यो दुईदिने कार्यक्रम दलित र गैरदलित समुदायको समावेशी सहभागितामा सम्पन्न गरिने आयोजकले जानकारी दिएको छ।
उत्सवमार्फत दलित समुदायको इतिहास, वैज्ञानिक सोच, सिर्जनशीलता, संघर्ष र सफलताको कथा उजागर गरिनेछ। साथै, जातीय समानता, सामाजिक एकता र समावेशीताको सन्देश सम्पूर्ण समाजमा फैलाउने अपेक्षा गरिएको छ।
कार्यक्रमको औपचारिक जानकारी गराउन तिलोत्तमा नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिकामा करिब ११ प्रतिशत दलित जनसंख्या रहेको जानकारी दिनुभयो। साथै उहाँले “विभेदमुक्त नगर, समानता युक्त नगर” भन्ने नारालाई आत्मसात् गर्दै नीति तथा कार्यक्रमहरू सञ्चालन भइरहेको बताउनुभयो।









