रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १० पुग्यो

काठमाडौँ, २७ माघ । रामेछापमा भएको बस दुर्घटनामा थप एक यात्रुको शव फेला परेसँगै मृतकको संख्या १० पुगेको छ। काठमाडाैंबाट यात्रु लिएर ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको पूर्व अरनिको यातायात सेवा समितिको यात्रुबाहक बस मन्थली नगरपालिका– ६, भलुवाजोरस्थित लिलौटी भन्ने स्थानमा दुर्घटना हुँदा १० जनाको ज्यान गएको हाे ।

दुर्घटनाबाट हालसम्म सातजनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ६ जनाको सिन्धुलीको खुर्कोटस्थित अस्पतालमा उपचार भइरहेको छ भने बसका चालकको रामेछापको मन्थलीस्थित तामाकोशी अस्पतालमा उपचार भइरहेको छ।

मगंलबार बिहान करिब १०ः३० बजेको समयमा उक्त बस सडकबाट तामाकोशी नदीमा खसेको थियो । अहिले पनि घटनास्थलमा उद्धार कार्य जारी रहेको छ । बस दुर्घटना र यात्रुको संख्या यकिन भएको छैन । थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजनप्रसाद तिम्सिनाले जानकारी दिए ।