राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौँ, ७ चैतः एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज राजकुमार विकले चित्रकलामार्फत सहअस्तित्वको खोजी गर्नुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको लुम्बिनी प्रदेश समन्वय समितिको सहकार्यमा आज काठमाडौँमा कलाकार विकले एकल चित्रकला प्रदर्शनीमार्फत ‘सह–अस्तित्व’को खोजी गर्नुभएको हो ।

प्रतिष्ठानको सभाहल नक्सालमा सहअस्तित्व नामक प्रदर्शनीको नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य हरिप्रसाद भुसाल र प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नुभयो । प्रतिनिधिसभा सदस्य भुसालले आफू पनि कला क्षेत्रसँगै जोडिएको व्यक्ति भएकाले समाजसँग जोडिएको विषय आफैँमा महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले प्रदर्शनीमा राखिएका कलामा रङ र आकृति मात्र नभई मानवीय आवाज, संवेदना प्रकट भएको बताउनुभयो । प्रदर्शनीमा राखिएका कलाकार विकका चित्रहरु जातीय विभेदविरुद्धको सशक्त आवाज बनेर उभिएको उहाँको भनाइ छ । चित्रमा दलित समुदायमाथि हुने थिचोमिचो, उनीहरुका पेसा र जीवनशैलीहरु समावेश छन् ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाकार राजकुमार विकले समाजमा छुवाछूतविरुद्धको अनुभूतिगत भाव सन्देशात्मक अभिव्यक्ति आफ्ना चित्र, रचनाहरूमा गरेको बताउनुभयो । उहाँले विकले विभेदको मुद्दालाई आफ्नो विषय बनाएर सामाजिक–सांस्कृतिक रूपान्तरणका लागि कलात्मक विद्रोहको अभियान आफ्ना रचनाहरूमा थाल्नुभएको धारणा राख्नुभयो ।

कलाकार राजकुमार विकले कलाको विषयगत धरातलमा शोषित तथा उत्पीडित समुदायका कथा र अनुभूतिलाई रङ र ब्रसका माध्यमबाट क्यानभासमा जीवन्त बनाउँदै यस प्रदर्शनीमार्फत श्रमचेतना, सामाजिक जागरण र सचेतनालाई अझ सशक्त ढङ्गबाट उठान गरेको बताउनुभयो ।

प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले ६१औँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको सन्दर्भ पारेर यस किसिमको कार्यक्रम गरिनुले समाजमा सहअस्तित्व र समानताका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

प्रतिष्ठानका लुम्बिनी प्रदेश समन्वय समिति संयोजक तथा मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भन्ने मूल भावलाई जोड्दै कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सामाजिक सचेतनामा यस कार्यक्रमले विशेष अर्थ राख्ने विचार राख्नुभयो ।

पूर्वसचिव डा मानबहादुर विकले देशका विभिन्न भागमा छरिएर रहेका प्रतिभाहरूलाई खोजी गरी तिनका कलालाई मूलधारमा ल्याउन प्रतिष्ठानले गरेको प्रयास प्रशंसनीय रहेको बताउनुभयो । यही चैत १० गतेसम्म चल्ने प्रदर्शनीमा उहाँका ३५ कलाकृति राखिएको छ ।