काठमाडौ -हास्य कलाकारको रूपमा परिचित सागर लम्साल (बले)माथि बलात्कारको आरोप लागेको छ । अमेरिकामा बस्दै आएकी विष्ट थरकी एक युवतीले शुक्रबार बिहान सामाजिक सञ्जालमा लामो पोस्ट लेख्दै आफ्नो परिवारसँग वर्षौंदेखि जोडिएको र ‘दाइ’ ठानेको व्यक्तिबाट आफू बलात्कृत भएको खुलासा गरेकी हुन् । उनका अनुसार यो घटना एक वर्षअघि अमेरिकामा भएको हो ।
एक नेपाली फिल्ममा बाल कलाकारको रुपमा अभिनय गरेकी उनले सानैदेखि आफू डिप्रेसन र एन्जाइटीसँग संघर्ष गरिरहेको र औषधि समेत खाने गरेको उल्लेख गर्दै परिवारको आग्रहमा सागरसँग आफूले अमेरिकामा भेट गरेको बताएकी छन् । त्यसक्रममा सागरले आफूलाई अपार्टमेन्ट लैजान आग्रह गरेको र त्यहाँ आफू बलात्कृत भएको उनको दाबी छ ।
उनले लेखेकी छन्, ‘अपार्टमेन्टमा बसेर कुरा गर्दा मेरो स्वास्थ्यको कुरा निस्कियो । मैले आफ्नो सबै संघर्ष सुनाएँ – रोइरहेको थिएँ, कति गाह्रो भइरहेको छ भनेर भनिरहेकी थिएँ । तर मलाई थाहा थिएन, जसलाई म दाइ भन्थेँ र हाम्रो परिवारले आफ्नै मान्थ्यो, त्यो व्यक्ति वास्तवमा राक्षस रहेछ । म बलात्कृत भएँ ।’
उनले उक्त घटनापछि आफूसँग भएको आशा र शक्ति सबै एकैचोटी हराएको उल्लेख गरेकी छन् । ‘मेरो आवाज नै निस्केन । म चिच्याउन चाहन्थेँ, परिवारलाई भन्न चाहन्थेँ, तर त्यो अवस्थामा पनि यदि मैले केही भनेँ भने हाम्रो परिवार नै टुट्छ भन्ने डर लाग्यो,’ उनले लेखेकी छन् । उनले यो कुरा आफूले परिवारलाई समेत नभनेको बताएकी छन् ।


















