बुटवल- जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. ले आफ्नो १६औं वार्षिकोत्सव विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमका साथ मनाएको छ।
संस्थाले २०८२ साल चैत्र २७ गते केन्द्रीय कार्यालय बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव सम्पन्न गरेको हो।रक्तदान कार्यक्रममा सञ्चालक, कर्मचारी, ग्राहक र सर्वसाधारण गरी ३९ जनाले रक्तदान गरेका थिए।
कार्यक्रममा वडा नं. १० का कार्यवाहक अध्यक्ष रमेश प्रसाद अधिकारी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा संस्थाका अध्यक्ष तथा पूर्वसचिव डा. मान बहादुर वीके, पूर्वअध्यक्ष रेवन्त बहादुर विश्वकर्मा, सञ्चालकहरू यज्ञ विक्रम शाही, गुरुराज बरुवाल, दिपक बि.क. लगायतको उपस्थिति रहेको थियो।
संस्थाले केन्द्रीय कार्यक्रमसँगै आफ्ना ३९ वटै शाखा कार्यालयमार्फत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न गतिविधि सञ्चालन गरेको जनाएको छ। जसअन्तर्गत शैक्षिक सामग्री वितरण, सरसफाइ कार्यक्रम, बिउबिजन वितरण, अनाथ तथा वृद्धाश्रममा खाद्यान्न सहयोग, डस्टबिन वितरण, सदस्य तथा अभिभावक भेला लगायतका कार्यक्रम सम्पन्न गरिएका छन्।
संस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार राय का अनुसार संस्थाले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै हरेक वर्ष यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।
हालसम्म संस्थाले पूर्वको पर्सादेखि पश्चिमको कञ्चनपुरसम्मका १९ जिल्लामा ३९ शाखा कार्यालयमार्फत करिब ६२ हजार ४०५ समूह सदस्यलाई सेवा प्रदान गर्दै आएको जनाएको छ। साथै, सदस्यहरूको मागअनुसार सीपमूलक तालिम, वित्तीय साक्षरता अभियान तथा सामाजिक सेवामूलक कार्यक्रमहरू सञ्चालन गरिँदै आएको छ।
त्यसैगरी, सामूहिक गीतका संगीतकार सुरेश सेन्चुरी सहित कर्मचारी, शेयरधनी, ग्राहक तथा सर्वसाधारणको सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिबाट संस्थाको सामूहिक गीत सार्वजनिक गर्दै उद्घाटन गरिएको थियो।वार्षिकोत्सवको अवसरमा रक्तदातालाई प्रशंसापत्र प्रदान गर्नुका साथै संगीतकार सेन्चुरीलाई पनि सम्मान गरिएको थियो।





















