अखिल नेपाल सुकुम्वासी संघले विकल्पबिनै सुकुम्वासी बस्ती हटाउने कार्य तत्काल रोक्न माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघले विभिन्न सुकुम्वासी बस्तीमा डोजर चलाएर राज्यले आतंक सिर्जना गरेको आरोप लगाउँदै जबर्जस्ती उठिबासको नीति बन्द गर्न सरकारसँग माग गरेको हो।
संघका अनुसार आन्दोलनको पहिलो चरणमा भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीसँग सरकारले गरेका प्रतिबद्धता स्मरण गराउँदै जबर्जस्ती उठिबास रोक्न सबै सरोकारवालासँग आग्रह गरिनेछ।
दोस्रो चरणमा मेची–महाकाली राजमार्ग चक्काजाम गर्ने तथा जनताको हितमा काम नगरेको आरोप लगाउँदै प्रधानमन्त्रीलाई फिर्ता बोलाउन देशव्यापी हस्ताक्षर संकलन अभियान सुरु गरिने संघले जनाएको छ।
संघका अध्यक्ष अमर परियारले नागरिकलाई बलपूर्वक विस्थापित गर्ने कार्य बढेकाले आन्दोलनमा जान बाध्य भएको बताए।
उनले भने, “पहिलो चरणमा हामी संवाद र आग्रहमार्फत समस्या समाधान खोज्नेछौँ। यदि मागको सुनुवाइ भएन भने दोस्रो चरणमा कडा आन्दोलनका कार्यक्रम ल्याउनेछौँ।”
संघले शान्तिपूर्ण आन्दोलनबाट पनि माग सम्बोधन नभए मेची–महाकाली राजमार्ग र सुकुम्वासी बस्ती केन्द्रित संघर्षका कार्यक्रमसहित देशव्यापी अनिश्चितकालीन आमहड्तालसमेत गर्ने चेतावनी दिएका छन।


















