डोटीमा पहिलो महिनावारीलाई उत्सवका रूपमा मनाउँदै, छोरी कुप्रथाका कारण असुरक्षित हुनु मलाई स्वीकार्य छैन:अभिभावकको भनाइ


दिपायल सिलगढी नगरपालिकाको आयोजनामा डोटीमा पहिलो पटक एक किशोरीको पहिलो महिनावारीलाई उत्सवका रूपमा मनाइएको छ।

सुदूरपश्चिम, विशेषगरी डोटी जिल्लामा आजभोलि पनि महिनावारीसँग सम्बन्धित विभिन्न कुसंस्कार र सामाजिक विभेद विद्यमान छन्। कतिपय ठाउँमा किशोरीहरूलाई पहिलो महिनावारी हुँदा विद्यालय जान नदिने, लुकाएर राख्ने, बोटबिरुवा, गाईवस्तु वा पुरुषहरूलाई छुन नदिने जस्ता अभ्यास अझै पनि कायम छन्।

यही सोच परिवर्तन गर्ने उद्देश्यले दिपायल सिलगढी नगरपालिका–२ की आयुसी सुनारको पहिलो महिनावारीलाई सम्मानपूर्वक उत्सवका रूपमा मनाइएको हो। आयुसी दिल्पेश्वर माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा हुन्।

परिवारले महिनावारीलाई लाज र विभेदको विषय नभई महिलाको प्राकृतिक जैविक प्रक्रिया र प्रजनन स्वास्थ्यसँग जोडिएको महत्वपूर्ण चरणका रूपमा स्वीकार गर्नुपर्ने सन्देश दिएको छ।

आयुसीका बुवाले समाजमा अझै पनि महिनावारीका नाममा किशोरीहरूलाई विभेद गरिने अवस्था रहेको भन्दै यस्तो कुप्रथा अन्त्य गर्न परिवारकै भूमिका महत्त्वपूर्ण हुने बताए।

‘म पुरुष भएकाले यो समस्या आफैंले भोगिनँ, तर मेरी छोरी कुप्रथाका कारण असुरक्षित हुनु मलाई स्वीकार्य छैन,’ उनले भने, ‘म उसको साथी बन्न चाहन्छु, उसलाई बुझ्न चाहन्छु र सधैं माया, साथ र राम्रो हेरचाह दिन चाहन्छु।’