काठमाडौँको लाजिमपाटस्थित अरूपण आर्ट ग्यालरीमा आजदेखि १९औँ शताब्दीका युरोपेली कला प्रदर्शनी सुरु भएको छ ।
एक सातासम्म चल्ने उक्त प्रदर्शनीको उद्घाटन गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरले लाखौँ पैसा तिरेर विदेशी सङ्ग्रहालयमा हेर्नुपर्ने कला यहाँ निःशुल्क हेर्न पाउनु नेपालीका लागि महत्त्वपूर्ण अवसर भएको बताए ।
विश्वमा कला र कलाकारको महत्त्व ठूलो रहेको स्मरण गर्दै कलाकार मानन्धरले नेपालमा अझै त्यसखालको महत्त्व बुझाउन नसकिएको बताए । उनले आफूले कला सिक्नका लागि बुबाबाट सात हजार ठगेर बनारस गएको स्मरण गर्दै अहिले भने कलालाई हेर्ने दृष्टिकोण केही सुधार भएको बताए । आफ्नो पालामा चित्र बनाउन पनि परिवारले नदिने अवस्था रहेको उनले सुनाए ।
अर्का अग्रज कलाकार राधेश्याम मुल्मीले कलामा विश्वमा उच्च सम्मान हुने गरेको र नेपालमा पनि सम्मान बढ्न थालेको बताउँदै चित्रकलाको मूल्य कहिल्यै नघट्ने अनुभव सुनाए । उनले कला सिक्न आएका बालबालिकाहरूलाई कला साधनामा लाग्न सुझाव पनि दिए ।















