९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता २०८३ सुरु

केपि कुमार जलन / बागलुङ

काठमाडौं । नेपाली लोक संस्कृति, मौलिक कला तथा दोहोरी परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता २०८३ सुरु भएको छ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा देश तथा विदेशका उत्कृष्ट १८ दोहोरी टोली सहभागी भएका छन्।

प्रतियोगिता जेठ २९, ३० र ३१ गते नुवाकोटको विदुर नगरपालिकास्थित ईलम प्रशिक्षण केन्द्रमा आयोजना गरिएको हो। प्रतिष्ठानले प्रतियोगितालाई थप समावेशी, व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन आन्तरिक छनोट प्रक्रिया सम्पन्न गरेको जनाएको छ।

प्रतियोगितामा सातै प्रदेशबाट छनोट भएका उत्कृष्ट २–२ टोली, उपत्यका समन्वय समितिबाट उत्कृष्ट २ टोली तथा विदेश शाखाबाट उत्कृष्ट २ टोली गरी कुल १८ टोलीले रनिङ शिल्डका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगिताको विजेता टोलीले रनिङ शिल्डसहित नगद ३ लाख रुपैयाँ, उपविजेताले २ लाख रुपैयाँ, तृतीय हुने टोलीले १ लाख रुपैयाँ तथा सान्त्वना प्राप्त टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

त्यसैगरी विधागततर्फ उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट नवगायक, उत्कृष्ट नवगायिका, अनुशासित गायक/गायिका तथा उत्कृष्ट भेषभूषामा प्रस्तुत हुने कलाकारलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

लोक दोहोरी क्षेत्रका स्थापित तथा नयाँ प्रतिभाहरूलाई एउटै मञ्चमा ल्याउने यस प्रतियोगिताले नेपाली लोक संस्कृतिको जगेर्ना, स्रष्टाको सम्मान तथा नवप्रतिभाको प्रोत्साहनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।