शान्ति र सचेतनाको सन्देश फैलाउँदै अमेरिकाभर हजारौं माइल पैदल यात्रा गरेका बौद्ध भिक्षुहरूको टोली आइतबार बेलुका नेपालको लुम्बिनी आइपुगेको छ।
भिक्षु पन्नाकारा नेतृत्वको टोलीसँगै अन्तर्राष्ट्रिय शान्ति दूतका रूपमा परिचित ‘अलोका’ नामक कुकुर पनि सहभागी छ। पन्नाकाराले सन् २०२२ मा भारत र नेपाल हुँदै ३ हजार ४०० किलोमिटर लामो तीर्थयात्रा पूरा गरिसकेका थिए। सोही यात्राका क्रममा सो सामुदायिक कुकुर भारतको कलकतादेखि बोधगया जाने क्रममा जोडिएको थियो।
अलोका नाम दिइएको कुकुरसमेतको सहभागितामा भिक्षुहरूले अमेरिकाको फोर्ट वर्थ, टेक्सास, वासिङ्टन डीसीसहितका १० भन्दा बढी राज्यहरुमा को ‘वाक फर पिस’ (शान्ति पदयात्रा) गरिसकेका छन्। यस्तै श्रीलंका र थाइल्याण्डको यात्रा पूरा गरेर गत सोमबार भारत आइपुगेको टोली आइतबार दिउसो रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल प्रवेश गरेको हो।
बुद्ध जन्मस्थल लुम्बिनीमा पन्नाकारासहितको टोलीलाई लुम्बिनी विकास कोष, अन्तरराष्ट्रिय भिक्षु महासंघ र लुम्बिनी सांस्कृतिक नगरपालिकाले स्वागत गरे।
आफ्नो अभियानबारे बोल्दै भिक्षु पन्नाकाराले भने, “यदि हामी केही सुस्त गतिमा अघि बढ्यौं भने शान्ति भेट्नेछौं। यदि हामीले आफ्नै अन्तरमनमा हेर्न सक्यौं भने पनि शान्ति पाउनेछौं।”
बौद्ध भिक्षु बन्नुअघि इन्जिनियर रहेका उनले आफ्नो जीवनमा आएको परिवर्तनबारे भने, ‘इन्जिनियरबाट बौद्ध भिक्षु बन्नु मेरो जीवनको पूर्ण परिवर्तन थियो। पैसा कमाउने व्यस्त जीवनबाट म सेवा, बुद्धका शिक्षाको अभ्यास र शान्तिको सन्देश फैलाउने यात्रामा आएको छु। सबै कुरा बदलिएको छ।’ उनका अनुसार भिक्षुहरूका लागि ‘वाक फर पिस’ विभिन्न देश र समुदाय हुँदै पैदल गरिने आध्यात्मिक अभियान हो।


















