केपि कुमार जलन
सांस्कृतिक संस्थानको गरिमामय ५४औँ वार्षिकोत्सवको अवसरमा आयोजित “राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३” असार ३ गतेदेखि काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थानको मेगा हलमा सुरु भएको छ। नेपाली लोकदोहोरी गीत तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता असार ५ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको उद्घाटन समारोहमा सांस्कृतिक क्षेत्रका अग्रज व्यक्तित्व श्री नारायण रायमाझी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा बडी पंगेनी, मञ्जु पौडेल, राजु परियार, मिलन लामा, देवी घर्ती र राजु ढकाल लगायत चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।
देशभरबाट सहभागी भएका दोहोरी समूहहरूले आफ्नो कला, प्रतिभा तथा सांगीतिक क्षमता प्रस्तुत गरिरहेका छन्।

प्रतियोगितामा लोकसंगीतप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ भने प्रवेश निःशुल्क गरिएको छ।
प्रतियोगिताको मूल्याङ्कन दुर्गा रायमाझी, गणेश थापा, राधिका हमाल, सीता थापा, कृष्ण रेउले, दीपक खड्का र सुबास केसी सम्मिलित निर्णायक मण्डलले गरिरहेको छ।
हरेक दिन बिहान १० बजेदेखि सञ्चालन हुने प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण कार्यक्रम असार ५ गते सम्पन्न हुनेछ। आयोजक सांस्कृतिक संस्थानले लोकदोहोरी तथा नेपाली संस्कृतिप्रति रुचि राख्ने सम्पूर्ण दर्शक, कलाकार र शुभेच्छुकहरूलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।


















