विश्व फुटबलमा धेरै उतारचढाव र नयाँ कीर्तिमानहरू

सन् २०२६ को फिफा विश्वकप अन्तर्गत समूह चरणका खेलहरू जारी रहँदा विश्व फुटबलमा धेरै उतारचढाव र नयाँ कीर्तिमानहरू बनेका छन्। यसै क्रममा सेनेगलका इब्राहिम म्बाए र स्पेनका लामिने यामालले सनसनीपूर्ण गोल गर्दै विश्वकप इतिहासकै सबैभन्दा कम उमेरमा गोल गर्ने शीर्ष १० खेलाडीहरूको सूचीमा आफ्नो नाम सुरक्षित गरेका छन्।

विश्वकप इतिहासमा ब्राजिलका महान फुटबलर पेले अझै पनि सबैभन्दा कान्छा गोलकर्ताको रूपमा शीर्ष स्थानमा छन्। उनले सन् १९५८ को विश्वकपमा वेल्सविरुद्ध मात्र १७ वर्ष २३९ दिनको उमेरमा खेलको ६६ औँ मिनेटमा गोल गरेका थिए, जुन कीर्तिमान आजसम्म कसैले तोड्न सकेको छैन।

इतिहासको दोस्रो स्थानमा मेक्सिकोका मानुएल रोसास रहेका छन्, जसले सन् १९३० को पहिलो विश्वकपमा अर्जेन्टिनाविरुद्ध १८ वर्ष ९३ दिनको उमेरमा पेनाल्टी मार्फत गोल गरेका थिए। तेस्रो स्थानमा स्पेनका मिडफिल्डर गाभी रहेका छन्। उनले सन् २०२२ को कतार विश्वकपमा कोस्टारिकाविरुद्ध १८ वर्ष ११० दिनको उमेरमा उत्कृष्ट गोल गरेका थिए।

चौथो स्थानमा भने हालै सन् २०२६ को विश्वकपमा सनसनी मच्चाएका सेनेगलका इब्राहिम म्बाए उक्लिएका छन्। फ्रान्सविरुद्धको खेलमा मैदान प्रवेश गरेर खेलको ९०+५ औँ मिनेटमा गोल गर्दै १८ वर्ष १४३ दिनका म्बाए विश्वकप इतिहासकै सबैभन्दा कान्छा अफ्रिकी गोलकर्ता बनेका छन्।

पाँचौँ स्थानमा इंगल्याण्डका चर्चित स्ट्राइकर माइकल ओवेन रहेका छन्, जसले सन् १९९८ मा रोमानियाविरुद्ध १८ वर्ष १९० दिनको उमेरमा गोल गरेका थिए। छैटौँ स्थानमा सन् १९३० मा पेरुविरुद्ध १८ वर्ष १९७ दिनको उमेरमा गोल गर्ने रोमानियाका निकोला कोभाक्स रहेका छन्। सातौँ स्थानमा सन् २००२ मा बेल्जियमविरुद्ध १८ वर्ष २३१ दिनको उमेरमा गोल गर्ने रूसका दमित्री सिचेभ छन्।

आठौँ स्थानमा स्पेनका नयाँ स्टार लामिने यामालले आफ्नो नाम लेखाएका छन्। साउदी अरेबियाविरुद्धको खेलमा सुरुवाती ११ मा मैदान उत्रिएर खेलको १० औँ मिनेटमा गोल गर्दै १८ वर्ष ३४३ दिनका यामालले आफूलाई शीर्ष १० मा स्थापित गरेका छन्।

नवौँ स्थानमा अर्जेन्टिनाका लियोनेल मेस्सी रहेका छन्, जसले सन् २००६ मा सर्बियाविरुद्ध १८ वर्ष ३५७ दिनको उमेरमा गोल गरेका थिए। शीर्ष १० को दशौँ स्थानमा अमेरिकाका जुलियन ग्रीन रहेका छन्।

शीर्ष १० भन्दा तल ११ औँ स्थानमा बेल्जियमका डिभोक ओरिगी, १२ औँ स्थानमा पूर्वी जर्मनीका मार्टिन होफम्यान, १३ औँ स्थानमा इङ्गल्याण्डका जुड बेलिङ्घम, १४ औँ स्थानमा ब्राजिलका तोस्ताओ, १५ औँ स्थानमा फ्रान्सका किलियन एमबाप्पे रहेका छन्।

सूचीको १६ औँदेखि २० औँ स्थानसम्म क्रमशः जर्मनीका एडमन्ड कोनेन, सेनेगलका मुसा वागुए, ब्राजिलका मज्जोला, कोस्टारिकाका रोनाल्ड गोन्जालेज र बुल्गेरियाका ज्योर्गी सोकोलोभ रहेका छन्।

सन् २०२६ मा म्बाए र यामालको उदयले गर्दा पुराना केही खेलाडीहरू शीर्ष २० को सूचीबाट बाहिरिएका छन्। पेलेको १७ वर्ष २३९ दिनको कीर्तिमान भने अझै सुरक्षित छ र नयाँ पुस्ताका यी प्रतिभाहरूले विश्वकपलाई थप रोचक बनाइरहेका छन्।

फिफा विश्वकपको महामञ्चमा उमेर केवल एउटा संख्या मात्र हो भन्ने कुरा युवा खेलाडीहरूले बारम्बार प्रमाणित गर्दै आएका छन्।