बाग्लुङ्गे समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम २०२६ जुलाई ४ मा हुने

केपी कुमार जलन

बाग्लुङ्गे समाज यूकेले आयोजना गर्ने वार्षिक भेटघाट कार्यक्रम–२०२६ आगामी जुलाई ४, शनिबार अल्डरशटस्थित एम्पायर ब्याङ्केटिङ्ग हल मा भव्य रूपमा सम्पन्न हुने भएको छ। कार्यक्रमलाई सफल, सभ्य र स्मरणीय बनाउन अध्यक्ष खड्क थापा सहित सम्पूर्ण कार्यसमिति तयारीमा जुटिरहेको समाजले जनाएको छ।

कार्यक्रमलाई थप मनोरञ्जनात्मक र आकर्षक बनाउन बाग्लुङ जिल्लामा जन्मिएका राष्ट्रियस्तरका चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। यस वर्षका लागि स्पोन्सर गरिएका चर्चित लोकगायक राजेन्द्र घर्ती मगरको भिसा स्वीकृत भइसकेको छ भने लोकगायिका प्रेमा राना र लोकगायक दिलीप श्रीस भिसा प्रक्रियामा रहेको जानकारी दिइएको छ।

भेटघाट कार्यक्रममा आफ्नै नौमती बाजाको विशेष प्रस्तुति, छोरीचेलीहरूको सांस्कृतिक नृत्य, आकर्षक पुरस्कारसहितको राफल ड्र तथा बाग्लुङको मौलिक झ्यामरे भाकामा आमन्त्रित कलाकारहरूसँग दोहोरी गाउने र नृत्यमा सहभागी हुने अवसर समेत रहनेछ।

समाजले वर्षमा एकपटक आयोजना गर्ने यस विशेष कार्यक्रममा सपरिवार उपस्थित भई स्वादिष्ट खानपानसँगै आपसी सद्भाव, भाइचारा र मनोरञ्जनको वातावरणमा रमाउन तथा कार्यक्रमलाई सफल र गरिमामय बनाउन सम्पूर्ण बाग्लुङवासी तथा नेपाली समुदायलाई हार्दिक निमन्त्रणा गरेको छ