केपि कुमार जलन
नेपाल सशस्त्र प्रहरी बलमा लामो समयसम्म इमानदारीपूर्वक सेवा गरी अवकाश प्राप्त गरेका रमेश विक्रम रत्न यतिबेला नेपाली लोकसांगीतिक क्षेत्रमा निरन्तर सक्रिय छन्। म्याग्दी जिल्लामा जन्मिएका रत्नले राष्ट्रसेवाको जिम्मेवारी पूरा गरेपछि आफ्नो सांगीतिक यात्रालाई थप सशक्त बनाउँदै एकपछि अर्को सिर्जना दर्शक–श्रोतामाझ ल्याइरहेका छन्।
यसैक्रममा उनको नयाँ लोकगीत ‘नाचिदेउ गौथली’ सार्वजनिक भएको छ। मौलिक लोकभाका, जीवन्त शब्द र आकर्षक दृश्य संयोजनले सजिएको गीतले सार्वजनिक भएसँगै सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।
गीतमा रमेश विक्रम रत्न र चर्चित गायिका शान्तिश्री परियारको सुमधुर स्वर रहेको छ। गीतका शब्द र संगीत स्वयं रमेश विक्रम रत्नकै रहेको छ भने संगीत संयोजन लक्षु प्रकाश मल्लाले गरेका छन्। मिक्सिङ तथा मास्टरिङ मनोज डंगोलले गरेका हुन्।
केशवराज भट्टको निर्देशनमा तयार गरिएको भिडियोमा स्मारिका ढकाल, रमेश विक्रम रत्न, अजय साम्भो, बिनो थापा लगायतका कलाकारको प्रभावशाली अभिनय देख्न सकिन्छ। छायांकन करण चैसिर र सम्पादन प्रविण भट्टले गरेका छन्।
राष्ट्रसेवाको लामो अनुभवसँगै लोकसंगीतप्रतिको समर्पणलाई निरन्तरता दिँदै आएका रमेश विक्रम रत्नले यसअघि पनि थुप्रै लोकगीत सार्वजनिक गरिसकेका छन्। ‘नाचिदेउ गौथली’ ले पनि नेपाली लोकसंगीतप्रेमीका मन जित्ने अपेक्षा गरिएको छ।
















