रसुवाका बाढीपीडितको सहयोगार्थ अमागासाकीमा दुईदिने सांस्कृतिक महोत्सव

केपि कुमार जलन
जापान । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ जापानको अमागासाकीमा दुईदिने सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ।

नेपाल आदिवासी जनजाति महासंघ, जापान क्षेत्रीय समिति कन्साईको आयोजनामा ‘नेफिन कल्चरल फेस्टिबल कन्साई–२०२६’ आगामी सेप्टेम्बर १८ र १९ गते सञ्चालन हुने भएको हो।
अमागासाकीस्थित हान्शिन अमागासाकी स्टेसननजिकैको सेन्ट्रल पार्कमा बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म महोत्सव सञ्चालन हुनेछ। महोत्सवमा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ।
महोत्सवमा नेपाली कला, संस्कृति, संगीत तथा विभिन्न

सांस्कृतिक प्रस्तुतिहरू रहने बताइएको छ। जापानमा रहेका नेपाली समुदायबीच आपसी एकता, सांस्कृतिक पहिचान र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले समेत कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।

आयोजकका अनुसार महोत्सवबाट प्राप्त मुनाफा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत रसुवाका भोटेकोशी बाढीपीडितको सहयोगमा प्रदान गरिनेछ।

बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नेपालीको सहयोगका लागि विदेशमा रहेका नेपाली समुदायले समेत हातेमालो गर्दै आएको अवस्थामा अमागासाकीमा आयोजना हुने यो सांस्कृतिक महोत्सवलाई सामाजिक सहयोगसँग जोडिएको कार्यक्रमका रूपमा हेरिएको छ।