केपि कुमार जलन/
बागलुङ । नेपाली सांगीतिक क्षेत्रमा सक्रिय ईश्वर बाबुको नयाँ गीत ‘गाउँ फर्क’ सार्वजनिक भएको छ। तीन वर्षपछि आफ्ना गुरु तथा मेन्टर खेम सेन्चुरीसँग संगीतमा पुनर्मिलन गर्दै ईश्वर बाबुले नयाँ गीत बजारमा ल्याएका हुन्।
गीतमा खेम सेन्चुरीको स्वर रहेको छ भने शब्द तथा संगीत ईश्वर बाबुको रहेको छ। गीतको संगीत संयोजन बिनोद बाजुरालीले गरेका छन्। रेकर्डिङ सागर बाजुराली र गोविन्द पराजुलीले गरेका छन्।
गीतको कथा तथा निर्देशनसमेत ईश्वर बाबुकै रहेको छ। भिडियोमा ग्रामीण जीवन, घर–परिवार र आफ्नै माटोसँग जोडिएको भावनालाई प्रस्तुत गरिएको छ। ‘गाउँ फर्क’ शीर्षकले पनि आफ्नो गाउँ, जन्मभूमि र मौलिकताप्रतिको सम्बन्धलाई संकेत गर्छ।
भिडियो सम्पादन तथा कलर प्रविण भट्ट, सिनेमाटोग्राफी राजेश घिमिरे र बिब लामिछाने, भीएफएक्स विकास ग्वायली तथा मेकअप कविता तोलाङ्गीको रहेको छ।
गीत तथा भिडियो ईश्वर बाबुको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। लामो समयपछि गुरु खेम सेन्चुरीसँगको सांगीतिक सहकार्यमा फर्किएका ईश्वर बाबुको ‘गाउँ फर्क’ ले नेपाली मौलिक संगीतप्रेमी दर्शक–श्रोताको ध्यान तान्ने अपेक्षा गरिएको छ।


















