काठमाडौं । नेकपा एमालेले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा घरबाट नियन्त्रणमा लिएको घटनालाई लिएर सरकारको कडा आलोचना गरेको छ ।
सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले जबरालाई पक्राउ गर्ने शैलीलाई ‘राज्य आतङ्क र बर्बरताको नमुना’ भएको टिप्पणी गरेका हुन् ।
असोज १० गते राति महाराजगञ्जस्थित निवासबाट जबरालाई नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाउँदै महरले भने, ‘सरकारले पूर्वप्रधानन्यायाधीश जस्तो सम्मानित र प्रतिष्ठित व्यक्तिलाई मध्यरातमा अपहरण शैलीमा पक्राउ गरेर राज्य आतङ्क र बर्बर नमुना प्रस्तुत गरेको छ । यो राज्य र विधिको शासनको चरम उल्लङ्घन हो ।’
सरकार गठन भएयता पूर्वपदाधिकारीलाई नियन्त्रणमा लिने शैलीले सरकारको नियतमाथि प्रश्न उठाएको उनको दाबी थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वप्रधानन्यायाधीशसम्मलाई मध्यरातमा घरमै पुगेर पक्राउ गर्ने कार्य भइरहेको भन्दै उनले सरकारको कार्यशैली लोकतान्त्रिकभन्दा निरङ्कुश र स्वेच्छाचारी देखिएको आरोप लगाए ।
महरले जेनजी पुस्ताको आन्दोलनको आडमा सरकारले आफ्ना गैरकानुनी गतिविधि ढाकछोप गर्न खोजेको आरोपसमेत लगाए । कानुन मिच्ने जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्ने भए पनि तथ्य र प्रमाणबिना तथा प्रतिशोधका आधारमा गरिने पक्राउले विधिको शासन कमजोर बनाउने उनको भनाइ थियो ।
‘मान्छेलाई तर्साउने, धम्क्याउने, मध्यरातमा पक्राउ गरेर हुर्मत लिने काम अहिलेको सरकारको मुख्य शैली बनेको छ,’ उनले भने, ‘यो विधिको शासन हो कि जसको शक्ति उसैको भक्ति भन्ने शैलीको निरङ्कुशता रु’
कानुनभन्दा माथि कोही नहुने भए पनि कानुन कार्यान्वयन गर्दा सरकारले अपनाएको प्रक्रियाले लोकतान्त्रिक संस्कारमाथि नै प्रश्न उठाएको महरले बताए ।


















