कपिलवस्तुमा ट्रकको ठक्करबाट बस चालकको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा ट्रकले बसलाई ठक्कर दिँदा बस चालकको मृत्यु भएको छ । दुर्घटनामा बसमा सवार ११ जना यात्रु घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान ६ः१० बजे दुर्घटना भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.६ ख ३३३३ नम्बरको ट्रकले सोही दिशामा रहेको लु।२ ख २४७१ नम्बरको टिप्परलाई ओभरटेक गर्ने क्रममा काठमाडौं–बर्दिया रुटमा चल्ने लु.प्र.०३–००१ ख ००९९ नम्बरको बसलाई ठक्कर दिएको थियो ।

ठक्करपछि बस चालक बाँकेको खजुरा गाउँपालिका–५ का ३४ वर्षीय सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा पार्वती बोहोरा, सुसान्त श्रेष्ठ, रिसमान थारू, विष्णु थारू, अरुण बुढाथोकी, सागर थारू, तिलकुमारी खत्री, सम्झना चुदारा, दीपेन्द्र गिरी, कृष्णबहादुर भण्डारी र गगन चुनारा घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले मोरङ कानेपोखरी गाउँपालिका–२ घर भएका ट्रक चालक रुपेश धिमाललाई नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।