कांग्रेस महाधिवेशन : मतदान फेरि सर्‍यो, अब दिउँसो २ बजेदेखि भोटिङ !

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय फेरि सरेको छ ।

निर्वाचनको सम्पूर्ण तयारी पूरा नभएपछि बिहान १० बजेका लागि तय गरिएको मतदानको समय यसअघि दिउँसो १ बजेसम्म सारिएको थियो । तर, १ बजेसम्म पनि तयारी पूरा नभएपछि निर्वाचन समितिले दिउँसो २ बजेबाट मतदान सुरु गर्ने नयाँ समय तोकेको छ ।

महाधिवेशन सुरु भएको पाँचौँ दिन मतदान हुन लागेको हो । प्रतिनिधिहरू बिहानैदेखि मतदानको प्रतीक्षामा छन् ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ७ हजार २५५ महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएका छन् ।

निर्वाचन समितिका अनुसार राष्ट्रिय सभागृह, खुलामञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठानमा मतदान केन्द्र तोकिएको छ । राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् ।

त्यस्तै, प्रज्ञा–प्रतिष्ठानमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदानको व्यवस्था गरिएको छ । खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् ।

भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूका लागि पनि खुलामञ्चमै मतदानको व्यवस्था गरिएको छ ।