खगेन्द्रको अडिओ प्रकरणमा छानबिन अघि बढिसक्यो, लामो जाँदैन : कबिन्द्र बुर्लाकोटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसद खगेन्द्र सुनारसँग जोडिएको विवादित अडिओ प्रकरणमा आन्तरिक अनुसन्धान अघि बढाएको छ।

पार्टीले अनुशासन आयोगलाई तत्काल छानबिन सुरु गर्न निर्देशन दिएको र आयोगले काम अघि बढाइसकेको जानकारी रास्वपाका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले दिएका हुन् ।

बुर्लाकोटीले छानबिनका लागि समयसीमा तोक्न नसकिने भए पनि प्रक्रिया लामो नजाने बताएका छन्।

‘यस्तो कुरामा मिति तोक्न सकिँदैन। तत्काल सुरु गर्न भन्ने निर्देशन छ, सुरु भइसकेको छ। निर्णय गरेर अनुशासन आयोगले काम सुरु गरिसकेको छ। लामो समय जाँदैन। जे छानबिन हुनुपर्ने हो, त्यो हुन्छ,’ बुर्लाकोटीले भने।

सुनार प्रकरणमा पार्टीले आन्तरिक अनुसन्धान अघि बढाएसँगै बुर्लाकोटीले राज्यका सम्बन्धित निकायले पनि कानुनअनुसार अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन्। राज्यले गर्ने अनुसन्धानमा पार्टीले सहयोग गर्ने उनको भनाइ छ।

‘राज्यको कानुन कहाँनिर आकर्षित हुन्छ, त्यसअनुसार राज्यले गर्नुपर्ने अनुसन्धान गरोस्। त्यसमा पार्टीका तर्फबाट सहयोग हुन्छ भन्ने हिसाबमा स्टेटमेन्ट नै दिइएको छ,’ उनले भने।

बुर्लाकोटीका अनुसार सुनार पार्टीका नेता भएकाले पार्टीले गर्नुपर्ने अनुसन्धान सुरु भइसकेको छ भने कानुन आकर्षित हुने विषयमा सरकारी निकायले छुट्टै अनुसन्धान गर्न सक्छन्।

यसअघि रास्वपाका अर्का सांसद कृष्णकुमार कार्कीसँग जोडिएर सार्वजनिक भएका विवादबारे पनि बुर्लाकोटीले स्पष्टीकरण दिएका छन्। त्यसबेला सामाजिक सञ्जालमा हल्ला मात्रै फैलिएको र आवश्यक कारबाही गर्नुपर्ने अवस्था नदेखिएकाले थप प्रक्रिया अघि नबढाइएको उनको भनाइ छ।

‘त्यतिखेर पनि सामाजिक सञ्जालमा हल्ला मात्रै थियो। यसमा चाहिँ केही प्रमाणसहित बाहिर देखिएकोले त्यो सही हो वा होइन भन्ने जाँचबुझ गर्नुपर्ने भएकाले अनुशासन आयोगमा पठाइएको हो,’ बुर्लाकोटीले भने।

उनले अनुसन्धान गर्ने निकायलाई जिम्मेवारी दिइसकिएको उल्लेख गर्दै त्यसको निष्कर्ष नआएसम्म पार्टी प्रतीक्षामा रहने बताए। पार्टीले आफ्नो तहबाट गर्ने अनुसन्धान अघि बढाउने र आवश्यक परे सरकारी निकायले पनि अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ।