केपि कुमार जलन/ बागलुङ
बागलुङ। जन्मदिनलाई सामाजिक सेवा र मानवीय कार्यसँग जोड्दै काठेखोला गाउँपालिका, तंग्राम घर भई हाल अमेरिकामा बसोबास गर्दै आउनुभएकी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति बागलुङकी पूर्व सदस्य सुनिता परियारले मानवसेवा आश्रममा बिहानको भोजन सेवा अर्पण गर्नुभएको छ।
आफ्नो जन्मदिनको शुभ अवसरमा परियारले आश्रममा आश्रित लक्ष्मीनारायण तथा बालगोपालहरूको सेवामा सहयोग पुर्याउने उद्देश्यले बिहानको भोजन सेवा सप्रेम अर्पण गर्नुभएको हो। जन्मदिनलाई व्यक्तिगत खुसीमा मात्र सीमित नराखी असहाय तथा सेवाको आवश्यकता भएका व्यक्तिहरूको सेवामा समर्पित गर्ने उहाँको यस कार्यले मानवीय सेवाप्रतिको समर्पणलाई उजागर गरेको छ।
उक्त मानवीय सेवाको अवसरमा सरस्वती खड्का परियार र कल्पना सापकोटाको समेत गरिमामय उपस्थिति रहेको थियो। उहाँहरूको उपस्थितिले सेवा कार्यलाई थप आत्मीय र प्रेरणादायी बनाएको थियो।
मानवसेवा आश्रमले यस पुण्य कार्यका लागि सुनिता परियारसहित सम्पूर्ण परियार परिवारप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको छ। साथै, जन्मदिनको अवसरमा गरिएको यस प्रकारको सहयोगले समाजमा सेवा, सद्भाव, सहयोग र मानवताको भावना अभिवृद्धि गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।
सामाजिक तथा सांस्कृतिक क्षेत्रमा समेत आबद्ध रहनुभएकी सुनिता परियारलाई जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, निरन्तर उन्नति र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरिएको छ।
जन्मदिनमा गरिने यस्ता मानवीय सेवाका कार्यले व्यक्तिगत खुसीलाई सामाजिक खुसीसँग जोड्नुका साथै समाजमा परोपकार र सेवाभावको सकारात्मक सन्देश प्रवाह गर्दछन्।
सेवा नै धर्म हो, मानवता नै सबैभन्दा ठूलो सम्पत्ति हो।




















