काठमाडौं। सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा किशोरीलाई अनलाइन दुर्व्यवहार, ब्ल्याकमेलिङ तथा चरित्र हत्याको प्रयास गरेको आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको विशेष अभियान ‘अपरेसन डिजिटल स्वाभिमान’ अन्तर्गत साइबर ब्युरो तथा विभिन्न जिल्ला प्रहरी कार्यालयको समन्वयमा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा दुई जना नाबालकसमेत रहेका छन्। प्रारम्भिक अनुसन्धानमा केही व्यक्तिले नक्कली सामाजिक सञ्जाल खाता बनाएर अश्लील सामग्री पठाउने, निजी तस्बिर तथा भिडियो सार्वजनिक गर्ने धम्की दिने र पीडितलाई आर्थिक रूपमा समेत ब्ल्याकमेल गर्ने गरेको पाइएको छ।
पक्राउ परेकाहरूमाथि विद्युतीय कारोबार ऐनअनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै महिला तथा बालबालिकामाथि हुने डिजिटल हिंसा गम्भीर चुनौतीका रूपमा देखिएको छ। यस्ता घटनामा पीडितले डर र लाजका कारण मौन बस्नुभन्दा प्रहरीको साइबर ब्युरोमा उजुरी गर्न आवश्यक छ।


















