राप्रपाले आजदेखि देशव्यापी चुनावी अभियान थाल्ने

चैत्र २८ :  राप्रपाले आजदेखि स्थानीय तहको निर्वाचन लक्षित देशव्यापीरुपमा ’जनताको माझमा राप्रपा र घरदैलो अभियान’को औपचारिक शुरुआत गर्दैछ । हरेक जिल्लाका सदरमुकाममा गरिने अभियानको शुभारम्भ गर्दा साना ठूला आमसभा, कोणसभा गरिने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

राप्रपाले स्थानीय तहको निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्दा जनजागरणका लागि आफ्नो टोलमा पुगौं भन्ने नारा तय गरेको छ । राप्रपाले निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्न, जिल्ला कार्य समितिको बैठक गराउन, जिल्लाको संगठनात्मक अवस्था, उमेदवार छनौट एवं विभिन्न अभियान सञ्चालनका लागि केन्द्रीय प्रतिनिधि समेत खटाएको छ ।

राप्रपाले स्थानीय तहको निर्वाचनका उमेदवार छनौटका लागि सम्बन्धित तहमा ताकेता पनि गरिरहेको छ । उमेदवार छनौट गर्दा सम्बन्धित तहमा लोकप्रिय, उच्च नैतिक चरित्र भएको, सामाजिक क्षेत्रमा क्रियाशील, विकास निर्माण र रचनात्मक कार्यमा सक्रिय रहेको, विगतका निर्वाचनमा पार्टी र पार्टीका उमेदवारका पक्षमा सक्रियतापूर्वक कार्य गरेको, पार्टीद्वारा सञ्चालन गरिएका विभिन्न कार्यक्रम, अभियान र आन्दोलन लगायतका गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेको, प्रचलित कानुनले उम्मेदवार हुन योग्य भएको र सुशासनमा प्रतिबद्धता हुनुपर्ने मापदण्ड तय गरेको छ ।

पार्टीको सक्रिय सदस्य नरहेको तर कुनै राजनीतिक दल राप्रपामा समाहित भएको, एकीकरण भएको, अन्य राजनीतिक दलमा सक्रिय भइ निर्वाचनका बेला राप्रपामा प्रवेश गरि निर्वाचनमा उमेदवार बन्न चाहेको अवस्थामा सम्बन्धित स्थानीय तह परिचालन समितिले निर्णय गरेबमोजिम हुने यसअघि निर्णय गरिसकेको छ ।

राप्रपाले उमेदवार छनौट गर्न वडा तहको सम्बन्धित जिल्ला अध्यक्षको अध्यक्षतामा गठित उम्मेदवार छनौट समितिले, नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारको निर्णय सम्बन्धित प्रदेश अध्यक्षको अध्यक्षतामा गठित उमेदवार छनौट समितिले र उपमहानगरपालिका, महानगरपालिकाका प्रमुख, उपप्रमुख केन्द्रले छनौट गर्नेछ र केही दिन भित्रै सबै तहमा उमेदवारको टुंगो लगाउने तयारी गरिरहेको प्रवक्ता श्रेष्ठले बताए । राप्रपाका महामन्त्री एवं स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठक नेतृत्वको समितिले तयार पारेको निर्देशिका बमोजिम स्थानीय तहको निर्वाचनको तयारी, अनुगमन र परिचालन भइरहेको छ ।