घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ

बैशाख ८ : बाग्लुङमा घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ परेका छन् । गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक रूपनारायण महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले पक्राउ गरेको छ ।

महतोलाई ३८ हजार रुपैयाँ घुस रकमसहित हिजो मङ्गलवार बेलुकी पक्राउ गरिएको आयोगको पोखराका प्रवक्ता देवप्रसाद थपलियाले जानकारी दिए ।

महतोले लेनदेन मुद्दा मिलाइ दिने भनी सेवाग्राहीसँग ३८ हजार रुपैयाँ लिएका थिए । आयोगको टोलीले रकमसहित महतोलाई बाग्लुङ नगरपालिका २ को विपद् व्यवस्थापन गुल्म नजिकैबाट पक्राउ गरेको हो ।