स्थानीय निर्वाचनका लागि आजबाट मनोनयन दर्ता शुरु

बैशाख ११ :  स्थानीय तह निर्वाचनका लागि आजबाट उम्मेदवारी मनोनयन दर्ता शुरु हुँदैछ । यही बैशाख ३० गते हुन लागेको निर्वाचनका लागि आजबाट मनोनयन दर्ता शुरु हुन लागेको हो ।

निर्वाचन आयोगले आज र भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको छ । यसअघि चुनावमा उम्मेदवारको मनोनयन दर्ताका लागि एक दिन तोके पनि मनोनयन दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतलाई चाप धान्न कठिन भएकाले यसपालि दुई दिन समय निर्धारण गरिएको हो ।

आयोगको कार्यतालिका अनुसार आज र भोलि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, भोलि मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, पर्सि १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ ।

त्यसैगरी, १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।