वैशाख १५ : आसन्न स्थानीय तहको निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिन सघाएको भन्दै एक दलित युवकको हत्या भएको छ । सप्तरीको खडक नगरपालिका–४ का २५ वर्षीय सन्तलाल पासवानको हत्या भएको हो । खडक नगरपालिका–४ का वडाअध्यक्षमा स्वतन्त्रबाट महादेव पासवानले मनोनयन दर्ता गराएका थिए । उनलाई उम्मेदवार बन्न सघाएको भन्दै पासवानमाथि आक्रमण भएको थियो ।
रडको आक्रमणबाट सन्तलालको टाउकोमा गम्भीर चोट लागेको थियो । तत्कालै उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकोमा गएराति उनको मृत्यु भएको हो । प्रशासनले घटनाको छानबिन गरी दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने स्थानीयको माग छ ।
दलित अगुवा राजदेव रामले स्वतन्त्र उम्मेदवार खडा गरेकै निहुँमा सन्तलालको हत्या गरिएको बताए ।
स्थानीयका अनुसार खडक नगरपालिकाको ४ नम्बर वडामा ७÷८ सय दलित मतदाता छन् । आफूहरूकै बाहुल्यता रहेको वडामा कुनै पार्टीले उम्मेदवार नबनाएको भन्दै दलित समुदाय असन्तुष्ट थिए ।
सन्तलालको हत्यामा निवर्तमान वडाध्यक्ष गंगाराम चौधरीका छोरा विवेक चौधरी, शिक्षक दिलिप चौधरी, सुशान्त चौधरी, नरसिंह चौधरी लगायतका व्यक्तिको संलग्नता रहेको पीडित परिवारको आरोप छ । स्वतन्त्र उम्मेदवार दासले पनि घटनामा निवर्तमान वडाध्यक्ष गंगारामको हात रहेको टिप्पणी गर्छन् । गंगाराम नेकपा एसबाट वडाध्यक्षको उम्मेदवार छन् ।
दुई वर्षअघि बिहे गरेका सन्तलालको एक वर्षकी छोरी, श्रीमती र आमाबुबा छन् । उनको शव अहिले विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा राखिएको छ ।
इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिस्टर सिंहले गाउँमा जन्ती लिएर आएको डिजे बाजाको विषयमा विवाद भएपछि सन्तलाल कुटिएको र उपचारको क्रममा मृत्यु भएको बताए ।


















