एक करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ सम्पन्न, वैशाख ३० गते सार्वजनिक बिदा दिन आग्रह

बैशाख १६ : वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले १ करोड ९४ लाखमध्ये १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ सम्पन्न गरेको छ । बाँकी मतपत्र छपाइ कार्य अब केही दिनमा सकिने आयोगको भनाइ छ ।

निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार बिहीबारसम्म ७२ जिल्लाका लागि सो संख्यामा मतपत्र छपाइ सम्पन्न भएको हो । त्यस्तै, आयोगले वैशाख १३ गतेदेखि छपाइ भएको मतपत्र ढुवानी सुरु गरेको थियो । बिहीबारसम्म ३३ जिल्लामा मतपत्र ढुवानी भइसकेको छ ।

सुदूरपश्चिम, कर्णाली प्रदेशसहित अन्य ३३ जिल्लामा कुल ५१ लाख ८१ हजार थान मत्रपत्र ढुवानी भएको हो । छपाइ सम्पन्न भएको मतपत्र ढुवानीको काम निरन्तर जारी रहेको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

वैशाख ३० गते सार्वजनिक बिदा दिन आग्रह

यसैगरी, आयोगले वैशाख ३० गते सार्वजनिक बिदा दिन नेपाल सरकारलाई अनुरोध गर्ने भएको छ । मतदानको दिन देशवासीका लागि उत्सवको दिन भएकाले मताधिकारबाट कोही वञ्चित नहोऊन् भनेर नेपाल सरकारसँग आयोगले यस्तो आग्रह गर्ने भएको हो ।

आयोगका सहायक प्रवक्ता अर्यालले स्थानीय तह निर्वाचनको मतदान हुने दिन वैशाख ३० गते अर्थात् शुक्रबारका दिन नेपालभर सार्वननिक बिदा दिन मुख्य सचिवमार्फत् नेपाल सरकारलाई अनुरोध गरिएको बताए ।

आयोगले निर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न वैशाख २८ देखि ३० गतेसम्म तीन दिनका लागि मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने हुन्छ । उक्त दिन मतदान केन्द्र तोकिएका विद्यालयका विद्यार्थीहरूको भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरूलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन पनि मुख्य सचिवमार्फत नेपाल सरकारलाई अनुरोध गरिएको उनले बताए ।

यसैगरी, निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र तोकिएका सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवम् भौतिक संरचना मतदान प्रयोजनका लागि उपयोग गर्न त्यस्ता भवन र भवन परिसर वैशाख २८ देखि ३० गतेसम्म उपलब्ध गराउन नेपाल सरकार संघीय मामिला तथा सामान्य मन्त्रालयमार्फत् सबै स्थानीय तहमा लेखी पठाउने निर्णय पनि आयोगले गरेको छ ।