बैशाख २१ :अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सबलीकरणका लागि मर्यादित र व्यवसायिक लेखा परीक्षण हुनुपर्ने बताएका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले सम्पूर्ण सम्पत्तिको सही लेखाजोखा गर्नुपर्ने दायित्वबाट लेखा परीक्षक बिमुख हुन नहुने धारणा राखे।
कुनै पनि व्यवसाय वा सम्पत्तिको लेखा परीक्षण गर्ने क्रममा जोड(घटाउमा थोरै मात्र तलमाथी भए राष्ट्रिय अर्थतन्त्रमा नै असर पर्ने उनले बताए। लेखा परीक्षण व्यवसाय अर्थतन्त्रको मूल आधार र समग्र देशको आर्थिक चित्र देखाउने ऐना भएको उनले बताए।
‘निजी, सरकारी, गैर-सरकारी सबै क्षेत्रमा लेखा परीक्षण क्षेत्रले राम्रो भूमिका खेलेको छ,’ उनले भने, ‘लेखा परीक्षण व्यवसायमा अत्यन्तै इमान्दारिता, स्वच्छता र जिम्मेवारी बोधको आवश्यकता छ।’ उनले वित्तीय अनुसाशन कायम गर्नरगराउन लेखा परीक्षकको भूमिका महत्वपूर्ण हुने समेत बताए।
उनले लेखा परीक्षण कुनै संस्था वा कम्पनीको हिसाब किताबमा मात्रै सिमित नभई समग्र देशको सम्पत्ति मूल्यांकनमा पनि प्रयोग हुनुपर्ने बताए। गरिबी अन्त्यका लागि देशको अर्थ व्यवस्थाको ‘अडिट’ हुनुपर्ने मन्त्री शर्माको तर्क छ।
‘बषौंदेखि बहुआयामिक गरिबी किन भइरहेको छ। यसको अडिट गर्नुर्पयो। जोड राख्नुपर्ने ठाउँमा घटाउ राखेर हिसाब गर्दा पो यस्तो भएको हो की,’ उनले भने, ‘अब गरिबीको सही ढंगले अडिट गरियो भने हामी सुधार गर्न सक्छौं।’
अर्थतन्त्र सुधारका लागि सबै क्षेत्रको अडिट हुनुपर्ने भन्दै हिमालको सम्पत्ति, तराईको जमिन, देशभरका नदीमा बगेको पानीलगायतको अडिट गरेर राष्ट्रिय सम्पत्ति यकिन गर्नुपर्ने बेला आएको शर्माले बताए। उनले भने, ‘अहिले राष्ट्रिय सम्पत्तिको अडिट गर्नुपर्ने बेला भएको छ।’ मुलुकलाई आत्मनिर्भर बनाउने गरी स्रोत साधनको अधिकतम उपयोग गर्ने बेलासमेत आएको शर्माले औंल्याए।

















