देशभित्रै रासायनिक मल उत्पादन गर्न समझदारीपत्रमा हस्ताक्षर

जेठ १० :देशभित्रै रासायनिक मल उत्पादनका लागि नेपाल विद्युत् प्राधिकरण र एक अन्तर्राष्ट्रिय संस्थाबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्राधिकरण र संसारभर हरित हाइड्रोजनलगायत क्षेत्रमा काम गर्दै आएको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट, कोरियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र इन्स्टिच्युटका महानिर्देशक फ्रयाङ्क रिज्सबरम्यानले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

दुई संस्थाले हरित ऊर्जामार्फत हाइड्रोजन, एमोनियाको उत्पादन र युरिया मल उत्पादनका लागि मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्ने छन् । नेपालको जलविद्युत् आयोजनाबाट उत्पादित हरित ऊर्जाको प्रयोग गरी हाइड्रोजन, एमोनिया उत्पादन गर्ने र मल कारखाना स्थापनाका लागि एउटा नमूना परियोजनाको डिजाइन, विकासका लागि सम्भाव्यता अध्ययन गरिने छ ।

हस्ताक्षर कार्यक्रममा ऊर्जामन्त्री भुसालले नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् देशभित्रै खपतका लागि हाइड्रोजनको उत्पादन नयाँ क्षेत्र र प्रविधि हुने बताए। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खपतका लागि हाइड्रोजन, एमोनिया उत्पादन र त्यसैमार्फत मल कारखाना स्थापना राम्रो विकल्प र क्षेत्र भएको जानकारी दिए।