सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने काठमाडौंका मेयर साहको प्रतिबद्धता

जेष्ठ २०:  काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले नुवाकोटको सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता जनाएका छन् । उपमेयर सुनिता डंगोलसहित आज शुक्रवार बिहान काठमाण्डौको फोहर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्ने क्रममा मेयर साहले एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता जनाएका हुन् ।

स्थानीयवासीको गुनासो सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ताभित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताए । त्यसका लागि आफूले विज्ञहरूसँग आवश्यक छलफल गरेको उनको भनाइ छ ।

मेयर साहले तीन महिनाभित्र मल र ग्यास दुवै निकाल्न सुरु गरेर त्यहाँको फोहर व्यवस्थापन गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

मेयर साहले फोहर व्यवस्थापनका लागि सड्ने र नसड्ने फोहर छुट्टयाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि छिट्टै काठमाण्डौवासीको घरघरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पनि उल्लेख गर ।