रगत निशुःल्क उपलब्ध गराउन सरोकारवालाको माग

जेठ २७:  सरोकारवालाले रगत निशुःल्क उपलब्ध गराउन माग गरेका छन् । नेपाल रेडक्रस सोसाइटीले आयोजना गरेको रक्तसञ्चार सेवाका समस्या र समाधान विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले रगत निशुःल्क उपलब्ध गराउन माग गरेका हुन ।

रगतको सहज व्यवस्थापनका लागि सरोकारवालाको समन्वयमा जोड दिदै नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले शुल्क तथा सेवामा देशव्यापी एकरुपता ल्याउनु पर्नेमा जोड दिए । स्थानीय सरकार र जनप्रतिनिधिहरुको सहयोगमा रक्तसञ्चार क्षेत्रको थप विकासमा ध्यान दिनका लागि पनि निर्देशक पौडेलले जोड दिए ।

डाक्टरहरुले पनि विरामीहरुको लागि आवश्यक रगत मात्रै माग्ने र प्रयोग नहुने सुनिश्चित भएका रगत तत्कालै अस्पताल फिर्ता पठाउन सके रगतको केही सहज व्यवस्थापन हुने नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका डा. अमित श्रेष्ठले बताए ।

प्रसुति गृह थापाथलीको रक्तसञ्चार सेवाका प्रमुख परशुराम दाहालले निश्चित पालिकाहरुले मात्रै नभएर देशव्यापी रुपमै रगत निशुःल्क उपलब्ध गराउनका लागि पहल गर्नुपर्ने कुरामा जोड दिए ।

साथै सामाजिक सञ्जालमा आउने रगत तथा रक्तदानका सूचना र जानकारीहरुको पनि एक रुपता कायम गर्न र निश्चित निकायबाट मात्रै सम्प्रेषण हुने व्यवस्था मिलाउन उनले आग्रह गरे ।

रगत नपाए भक्तपुर जानु भन्ने नारा चलाइरहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले रक्तसञ्चार सेवालाई प्रभावकारी बनाउनका लागि जिल्लाका सरोकारवालाहरुसँगै मिलेर काम गरिरहेको भक्तपुर शाखाका मन्त्री परशुराम पाण्डेले बताए ।

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले रक्तसञ्चार सेवाका समस्याहरु सामूहिक भएकाले निकास पनि सामूहिक रुपमा खोज्नुपर्ने बताए ।

नेपाल रेडक्रसको पहिलो चिनारी रक्तसञ्चार सेवा र दोस्रोमा विपद् व्यवस्थापन रहेको बताउँनु हुँदै कार्यकारी निर्देशक ढकालले सबैको सहयोगले नै कोभिड महमारीको समयमा पनि रक्तसञ्चार सेवा निरन्तर सञ्चालन गर्न सकेको बताए ।

ब्लड डोनर्श एशोसियसन नेपाल ब्लोदानका अध्यक्ष सानुबाबु प्रजापतिले जस्तोसुकै परिस्थितिमा पनि विरामीका लागि रगत उपलब्ध गराउन ब्लोदान तयार रहेको बताउँदै सबैसँग हातेमालोका लागि आव्हान गरे ।

निःशुल्क रगत उपलब्ध गराउनका लागि सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने अध्यक्ष प्रजापतिको भनाई थियो ।

गोष्ठीमा ब्लोदानका पदाधिकारी, रक्तदाताहरु, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय र केन्द्रीय रक्तसञ्चार सेवाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।