काठमाडौँ — नेकपा एकीकृत समाजवादी पार्टीकी सांसद समिना हुसेनले प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा सोमबार बोल्दै कोभिडका कारण बलात्कारका घटना बढेको बताएकी छन् , २ वर्षयता बलात्कारका घटना बढेको बताउँदै यसबारे अध्ययन हुनुपर्ने माग समेत राखेकी छन् ।
समितिको छलफलका क्रममा उनले भनिन्, कोभिड र जलवायु परिवर्तनले दिनदिनै बलात्कारका घटना बढेका छन् । यसबारे अध्ययन गरेर यस्ता घटनालाई कम गर्दै लैजानु पर्छ ।
उनले तराईमा बलात्कारका घटनाले झन् भयावह रुप लिँदै गएको बताइन् । उनले तराईका खुल्ला सिमानाले बालिकादेखि वृद्धासमेत बलात्कार र हिंसामा परेको समे बताइन् । उनले भनिन्, बलात्कार भइसकेपछि बलात्कारी भाग्ने गरेका छन् । पीडितलाई होइन पीडकलाई पो न्याय दिने काम भइरहेको छ ।
बलात्कारमा पर्ने परिवार गरिब परिवारका हुने तर बलात्कार गर्नेहरुले पैसा दिएर मुद्दा मिलाउने काम भएको उनको भनाइ थियो । बलात्कारका मुद्दा मिलाउन प्रहरी आफै संलग्न हुने आरोप समेत लगाएकी छिन ।