केपि कुमार जलन
बागलुङकी गायिका निसा सुनार यतिबेला अमेरिकाबाट नेपाल आएकी छन्। अमेरिकालाई कर्मथलो बनाउँदै आएकी सुनार करिब एक महिनाको समय लिएर छोरीसहित नेपाल आएकी हुन्। नेपाल आएदेखि उनी आफन्त, इष्टमित्र तथा आफ्ना सांगीतिक सहयात्रीहरूसँगको भेटघाटमा व्यस्त छिन्।
बागलुङको काठेखोला गाउँपालिका–बिहुमा जन्मिएकी निसाले लाइभ दोहोरीबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेकी हुन्। लोकदोहोरीप्रतिको रुचि र मेहनतका कारण छोटो समयमै सांगीतिक क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएकी उनी अहिले अमेरिकामा रहेर पनि नेपाली गीतसंगीतसँगको सम्बन्धलाई निरन्तरता दिँदै आएकी छन्।
नेपाल आएको अवसरमा निसाले विभिन्न भेटघाटसँगै लाइभ दोहोरीमा समेत आफ्नो प्रस्तुति दिइरहेकी छन्। उनका आवाजमा लाइभ दोहोरीका गीतहरू सुन्न पाउँदा दर्शक तथा संगीतप्रेमीहरू पनि उत्साहित भएका छन्।
नेपाल बसाइका क्रममा उनले लाईभ दाेहाेरी मात्र नभई नयाँ गीत समेत सार्वजनिक गरेकि छिन । यसले उनको नेपाल आगमनलाई भेटघाटमा मात्र सीमित नराखी सांगीतिक गतिविधिले पनि थप विशेष बनाएको छ।
निसा गायनसँगै चलचित्रमा समेत डेब्यु गरिसकेकी कलाकार हुन्। नृत्य तथा मोडलिङ क्षेत्रमा सक्रिय शंकर बिसीसँगको प्रेमसम्बन्धपछि उनीहरूले एक छोरीलाई जन्म दिएका छन्। अहिले छोरीसहित नेपाल आएकी निसा केही समयपछि पुनः अमेरिकातर्फ फर्किने तयारीमा छिन्।
अमेरिकामा रहेर पनि नेपाली लोकसंगीतलाई निरन्तरता दिइरहेकी निसाको यसपटकको नेपाल आगमनले आफन्तसँगको आत्मीय भेटघाटसँगै गीतसंगीतमा पनि नयाँ उत्साह थपेको छ।


















