केपि कुमार जलन
कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले राष्ट्रिय तथा विभिन्न तहका खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न सफल खेलाडी तथा खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीको प्रमुख आतिथ्यमा आयोजित विशेष समारोहमा विभिन्न खेल विधाका उत्कृष्ट खेलाडी तथा खेलकुद क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिएको हो।
सोही क्रममा खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनमा पुर्याएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै नन्द बस्याललाई नगद रु. १ लाखसहित सम्मानपत्र प्रदान गरिएको छ।
खेलकुदप्रतिको समर्पण, निरन्तर मेहनत र योगदानको सम्मानस्वरूप प्राप्त यो सम्मानले बस्यालको खेलकुद यात्रामा थप ऊर्जा र प्रेरणा मिल्ने विश्वास गरिएको छ।
सम्मान ग्रहण गर्दै बस्यालले खेलकुद क्षेत्रको विकास, खेलाडीको प्रोत्साहन र आगामी पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न आफूले निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सम्मानले खेलकुद क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई थप हौसला प्रदान गर्नुका साथै कर्णाली प्रदेशमा खेलकुदको विकास र विस्तारमा सकारात्मक सन्देश दिएको छ।


















