६घन्टापछि फेसबुक प्राविधिक समस्या समाधान, जुकरबर्गले गुमाए ६ अर्बभन्दा बढी अमेरिकी डलर

नेपाली समयअनुसार सोमबार राति करिब ९.३० बजे तिर  संसारभरि विभिन्न मुलुकका सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुक चलाउन पाएनन्। फेसबुकसँगै इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर र ओकुलसले काम गर्न छोडेका थिए।

यो क्रम लगभग छ घन्टा चल्यो। झन्डै ६ घन्टापछि फेसबुकले प्राविधिक समस्या समाधान भएको र आफ्ना सबै सामाजिक सञ्जाल साइट र एपले काम गर्न थालेको जनाएको छ।

तर यी सबैका मालीक तथा संचाक मार्क जुकरबर्गले भने छोटो समयमा निकै ठुलो धनराशी क्षति बेहोर्नु पर्यो, फेसबुकसहितका साइट बन्द भएर फेरि सुरू हुँदासम्म फेसबुकका सिइओ मार्क जुकरबर्गले ६ अर्बभन्दा बढी अमेरिकी डलर गुमाएका छन्।

ब्लुमबर्गका अनुसार सोमबार फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ। मध्य सेप्टेम्बरयता मात्रै फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओह्रालो लागेको छ।

सेयरको मूल्य घटेसँगै जुकरबर्गको सम्पत्ति पनि घटेको छ। ब्लुमबर्ग बिलिनियर्स इन्डेक्समा उनी पाँचौं नम्बरमा झरेका छन्। यसअघि उनी भन्दा पछि रहेका बिल गेट्सले जुकरबर्गलाई पछि पारेका छन्।

यसअघि सेप्टेम्बर १३ मा अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले फेसबुकको प्रणालीमा समस्या रहेको स्टोरीहरू प्रकाशित गरेको थियो।