प्रेसको साथ र सहयोगले नेपालमा गणतन्त्र स्थापनामा सहयोग पुग्यो : शिक्षामन्त्री पौडेल

काठमाडौं, कार्तिक १५

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले अभिव्यक्ति स्वतन्त्रताका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले प्रेसको गरिमा राख्‍न पत्रकार सचेत बन्नुपर्ने बताए हुन।

नेकपा माओवादी केन्द्र निकट पत्रकार प्रेस सेन्टर नेपाल बागलुङको पाँचौ सम्मेलन मंगलबार उद्घाटन गर्दै पौडेलले अनलाइन क्षेत्रमा बढ्दो दुरुपयोग रोक्न पत्रकारहरुकै सक्रियता चाहिएको बताए । उनले अभिव्यक्ति स्वतन्त्रताको नाउँमा कसैको चरित्रसँग नखेल्ने पत्रकारिता चाहिएको बताए ।

प्रेसको साथ र सहयोगले नेपालमा गणतन्त्र स्थापनामा सहयोग पुग्यो, धेरै कमीकमजोरी सच्याउन पनि प्रेसले साथ दिएको छ,’ मन्त्री पौडेलले भने, ‘चुनौती समाधानमा पनि पत्रकारले दिएको सुझाव हामी पालना गर्छौ ।’ स्वतन्त्रताको नाउँमा अनलाइन र केही पत्रपत्रिकामा आउने मनोमानी समाचार र अपुष्ट सूचनाले पत्रकारिताको बदमान गराएको उनले टिप्पणी गरे ।

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहेका उनले पत्रकारको समस्या सम्बोधन गर्न मन्त्रिपरिषद्मा समेत एजेण्डा बनाउने बताए ।