कटु सत्यलाई कोट्ट्याउने हो भने सायदै कुनै महिना होला जातीय छुदभेदकै कारण दलित समुदायका दुईचार जनाको हत्याहिंसा नभएको । काभ्रेको अजित मिझार हत्याकाण्डदेखि गत असोज अट्ठाइस गते चितवनमा भएको भीमबहादुर विश्कर्मा हत्यासम्म आईपुग्दा यस्ता प्रकृतिका सयौँ घटना सार्वजनिक भएका छन् । जातीय जर्जरान्धताकै कारण प्रत्यक्ष वा परोक्ष रूपमा दलित हत्याको श्रृङ्खला डरलाग्दो रूपमा देखापरेको छ । प्रत्येक घटना उस्तै विभीषिकाको रूपमा देखापर्ने गरेको छ बिभीषण चरित्र । एकादुई विदूषक दलितहरू र दलित हकहितका लागि कामगर्ने भनेर नीति कार्यक्रमका टीका लागाएर हिड्ने केही सकुनिमार्गीहरूका कारण हत्याराले उन्मुक्ति पाएका थुप्रै घटनाहरू छन् । रामायणमा; जसरी दाजु मारेपछि राजा बन्ने अभीष्टले उद्धत रावणकै कान्छा भाई बिभीषणलाई साथ लिएर रामले रावण वध गर्न सफल भए । त्यसरी नै कुनै न कुनै प्रभावमा परी दलित भित्रकै बिभीषण निस्केर दलित हत्याका मुद्दा कमजोर पार्ने काम भएको पनि उत्तिकै कटुसत्यको रूपमा देखिदोछ ।
रुकुम सोती काण्डमा नवराज विक लगायत छ जना युवाको हत्या हुनासाथ दलित प्रतिनिधिसमेतको सोती घटना छानबिन सहयोग समिति बनाइयो । जसमध्येका कुनै दलित सदस्यले घटनास्थल पुगेर अनुगमन गरेको स्वयम् यो पङ्तिकारसँग ‘आफ्नो आँखाले नदेखेको घटनालाई कसरी हातपात गरेर मारेको भनरे ठोकुवा गरौँ ।’ भन्दै जिब्रो चपाएर अभिव्यक्ति दिए । जहाँकि कुटाइका कारण मृतकहरू मध्ये कतिका हात भाँचिएका थिए । कतिका दाँत झरेका थिए । कतिका भेरी नदीमा भेटिँदा दुबै हात बाँधिएका अवस्थामा थिए । उक्त मुद्दा कमजोर बनाउन यस्ता कुराको प्रभाव परेको छैन भन्न सकिँदैन । चितवनमा भएको भीमबहादुर विक हत्यामा पनि यस्तै प्रपञ्च रचेर काठ काट्न काठैको बिँड ठोकेर फलामे हतियार चलाउने प्रयास भएको छ दलित माथी । कुनै पनि हत्यामा संलग्न भएका प्रतिपक्षिले आफ्नो बचाउको लागि जुनसुकै कपट रच्न सक्छन् । तथापि आम दलित उत्पिीडित र न्यायप्रेमि जनतासँग सरोकार भएको यस्ता जघन्य अपराधिक घटनालाई तहकिकात गरेर, सत्यको पक्षमा एकजुट हुन जरुरी हुन्छ । त्यही कार्य गरिरहेकाछन् चितवनका संघर्षशील दलितहरूले र संपूर्ण न्यायप्रेमी व्यक्ति व्यक्तित्व एवम् सङ्घ संस्थाहरूले । ऐक्यबद्धताकाथ चलेको संघर्षमा साथ र समर्थन दिईरहेकाछन् मुलुक भित्र वा बाहिर रहेका थुप्रै दलित समुदायले तथा मानव अधिकारवादी निकायहरूले ।
२०७८ असोज २९ गते बिहान ९ बजे चितवनको भ.म.न.पा.४ लङ्कुको दुर्गा मन्दिर नजिकै दुर्गाचोक भन्ने ठाउँमा ५८ वर्षिय भीमबहादुर विकको हत्या भएको हो । परिवारिक सूत्रका अनुसार; बिहान घुम्दै घर नजिकैको दुर्गा मन्दिरमा पुगेका भीमबहादुलाई त्यहाँ पुग्दा सँधै झलझली याद आउँथ्यो आफ्नी श्रीमती लगायत दलितले फूल अक्षेता लिएर पूजागर्न जाँदा नगद भेटी टिपेपछि ‘तिम्रा फूलप्रसादी छोइन्छ, चड्दैन’, भन्दै मन्दिरको सिँडी उक्लनै नदिएको अवस्था । नेपालको संविधानमा लेखिएका समानताको हक, मौलिक अधिकार, दलितको हक उनले पढेका थिएनन् र दलित अधिकारवादी सङ्घ सङ्गठनहरूको सहारा लिने र न्यायको लागि सरकारी निकायका विभिन्न ढोका धचधच्याउन पर्छ भन्ने पनि उनले जानेका थिनन् । उनले त्यतिमात्र जानेका रहेछन् खाइपिई गरी आत्मबल दह्रो पारेर त्यही ठाउँका जातीय विभेदकारीहरूका अगाडि गरएर बम्कनु । त्यो दिन उनले त्यसै गरेछन् । मृतकका छोरा किसन विश्वकर्माको भनाइ अनुसार ‘हामी दलितका फूल अक्षेता यो मन्दिरमा किन नचल्ने’ भन्दै मुरमुरिएछन् उनी । मन्दिर नजिकैका सीताराम बस्नेतले “सानो जात भएर ठूलोकुरा किन गर्छस् ?” भन्दै पाइपले पिट्दै गर्दा हाइकठै भन्ने कोही सहारा नपाएका भीमबहादुरलाई जातीय विभेदको पीडादायी राग मेटिइ नसकेको हुनाले मुखको तितो निखार्दै भाग्ने विकल्प रोजेछन् । त्यही मौकामा अर्को दीलिप भन्ने जन्डा हुर्रिदै आएर कसेर टाउकामा मुक्का बजारेछन् । त्यही पिटाइ र मुक्का प्रहारबाट ढलेर मुर्छा परेका भीमबहादुरलाई अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरे ।
दसैँको बेलामा रमाउँदै घरबाट निस्केका भीमबहादुरले समाजमा हजाराँै वर्ष लादिएको कुप्रथाको विरुद्ध एकल संघर्ष गरेर एक घण्टा बित्दा नबित्दै आफू लासमा परिणत भए । अब शुरू भएको छ उनीप्रति न्याय र सम्मान गर्ने अथवा अन्याय र अपमान गर्नेहरू बीचको द्वन्द्व संघर्ष । आफैले अह्राएर कजाएर खाईपाई आएको एउटा गरीब दलितले आफूले मान्दै आएको स्ांंस्कार माथी धावा बोलेको देखेर असैह्य भएका तप्काले आक्रोसित भएर उनीप्रति प्रहार गर्नु, दारुण दृश्य देख्ने सुन्ने वरपरका सबैले कामी कुटेको त हो नी ! भनेर बेवास्ता गरी मुकदर्शक बन्नु, मृत्यु भई सकेपछि पनि मर्ने मरिहाल्यो बाँच्नेलाई बचाउन पर्छ भन्ने भित्री मनसाय लिएर मिथक दुन्दुभी बजाउँनु एउटा पक्षको कित्ता भयो । जसले ‘दसैँको बेला मधिरा सेवन गरेर कराउँदै हल्लँदै हिँडेको मान्छे नकरा भनेर एकादुई थप्पड दिँदा मुण्टियो म¥यो । अभियुक्तलाई गिरफ्तार गरेकै छ कानुन अनुसार कारवाई भैहाल्छ’ भन्ने र भित्रभित्र अनेक चलखेल गर्ने नै भए । अर्को तर्फ जुनसुकै अस्थामा भए पनि जीवनभर आफूले भोग्न परेको जातीय विभेद र अपमानको पीडा त्यही मन्दिर र त्यहिँका छिमेकिसँग जोडिन पुगेको हुनाले त्यहीँ गएर उनले आक्रोस पोखे । त्यो आक्रोस मात्र भीमबहादुर विश्वकर्माको होइन सिङ्गो दलित जाति र वर्गको हो । जसको लागि उनले ज्यान दिए । उनलाई हत्या गर्नु पर्ने कुनै रिसइबी अन्य कारण केही थिएन । जातीय भेदभावका विरुद्ध वचनले जेहाद छेडेका कारण नै उनीप्रति हातपात भयो र मृत्युवरण हुनेसम्मका चोट पुग्यो । त्यसकारण ती हत्याराहरू र पुरातन हत्यारो संस्कारको विरुद्ध लड्नै पर्दछ । यसलाई सामान्य घटनाको रूपमा लिइयो भने दलित हत्याको श्रृङ्खला अझै बढेर जान्छ । जोकोही दलितहरू जुनसुकै बखत हत्याराका सिकार हुन सक्छन् । संपूर्ण दलित तथा न्यायप्रेमी जनसमुदाय एकतावद्ध हौँ भीमबहादुर हत्याकाण्डको विरुद्ध संघर्ष गरौँ । हत्यारालाई हदैसम्मको सजाय र राज्यबाट मृतकको सम्मान एवम् उनका परिवारलाई क्षतिपूर्तिको व्यवस्था होस् भनेर चितवन तातीरहेको छ ।
हुनतः संसारमा कहीँ नभएको निसाफ हुने हाम्रो देश, जहाँ पहिलो श्रीपेच पहिरिएका प्रधानमन्त्री माथवर सिंह थापालाई हत्या गर्नेको एकिन भएर पनि उजागर भएन, राजा वीरेन्द्रको वंशविनास हुने गरी भएको हत्याकाण्ड र नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको हत्याकाण्डसम्मका दोषीहरूको नाम जनताको कलेजोमा कोरिए पनि इतिहासको पानामा कोरिन सकेको छैन । दलितहरूका कुरा गर्नु पर्दा मनिषा हरीजन, अजित मिजार, सिर्जना सुनारलगायत काण्डका हजारौँ हत्याराहरू आज यही समाजमा छाती फुकाएर पीडितकै अगाडि ओहरदोहर गरी रहेका छन् । यो भन्दा विडम्वना के हुनसक्छ ।
दलित हत्याको श्रृङ्खला अन्तरगत आन्दोलनको बलमा दैलेखका सेते दमाई र कालीकोटका मनवीर सुनार हत्याको मुद्दामा हत्यारालाई कारवाई र परिवारलाई दशलाख क्षतिपूर्ति दिने तथा मृतकको सम्मानमा केही न केही विधि व्यवस्था गर्ने भन्ने कार्य डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला गरेर देखाए । त्यो संघर्षको आंशिक सफलता मान्नु पर्दछ । अझै अहिले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र भनिएको व्यवस्था प्रादुर्भाव भएको अवस्थामा दलित समुदायप्रति घटेका यस्ता पाशविक घटनामा अधिकतम् न्याय र सम्वर्धनका लागि राज्य जिम्मेवार हुनै पर्दछ भन्ने संंघर्षको लक्ष रहनु स्वभविकै हो । यस्ता उत्पीडित जनताले कति न्याय पाए भन्ने मानकबाट मात्र राज्यको चरित्र निर्धारण हुनेछ ।
जातीय छुवाछूत जन्य विभेद र हत्या प्रकरणलाई सन्चार क्षेत्रबाट पनि निकै चासोकासाथ सम्प्रेषण गरेर जनता जगाउन उत्प्रेरित गरिएकोले अपराधिलाई थोरै निरुत्साहित गर्ने काम भएको होला । तथापि जसरी धर्मको नाउँमा जिउँदै ज्यान लिने सती प्रथा निस्तार भयो । त्यसरि नै दलितको जिउँदै ज्यान लिने धर्म र संस्कारको अन्त्य गरी यस्ता घटनालाई इतिहासको पानामा मात्र कैद गर्नका निम्ति सिङ्गो मानव समाज कै चुनौति बनेको छ ।
यो गत कर्तिक २८ गते भिमबहादुर विश्वकर्माले दलितले पुजा गर्न किन नपाउँने भनेर समानताको हक खोज्दा झडप भएर उनलाइ हत्या गरेको स्थान भ।म।न।पा। ४ ।लङ्कु दुर्गा चोक स्थित चितवनको दुर्गा मन्दिर हो ।