सल्यान बस दुर्घटना अप्डेट १० जनाको सनाखत एक महिला एक बच्चा गरि दुईजनाको बाकीँ

काठमाडौं ,कार्तिक २१

सल्यानमा भएको बस दुर्घटनामा परेर मृत्यु भएका १२ जनामध्यमा आज१० जनाको सनाखत भएको छ भने बाकीँ दुईजनाको सनाखत हुन बाकीँ छ, जस्मा एक बालक र एक महिला रहेका छन ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दश महिला र दुई पुरुषको बस दुर्घटनामा परेर मृत्यु भएको हो ।

मृत्युहुनेहरुमा दाङको शान्तिनगर गाउँपालिका–८ की ३५ वर्षीया सावित्रा केसी, शान्तिनगर–६ कोरबाङका ५ वर्षीय सुरज वली, सल्यानको शारदा नगरपालिका–२ की ६१ वर्षीया मीना डाँगी, शारदा–३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका–१ काभ्राकी २४ वर्षीया मीना शाही र क्षत्रेश्वरी गाउँपालिका–२ का २९ वर्षीय तिलक वली रहेका छन् ।

त्यसैगरी, सल्यान शारदा नगरपालिका–१२ घर घई हाल दाङको तुलसीपुर उपमहानगरपालिका–६ बस्ने ५३ वर्षीया पर्भा चलाउने, दाङको बबई गाउँपालिका–४ की ६० वर्षीया डुली रेउले, बबई–६ पञ्कुलेकी ७० वर्षीया कलाबती बुढाथोकी र घोराही उपमहानगरपालिका–१० नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारीको दुर्घटनामा परेर मृत्यु भएको छ।

सात जना घाइतेलाई थप उपचारको लागि बाँके जिल्लाका अस्पतालहरुमा रिफर गरिएको छ। केही घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ।

त्यस्तै थप ७ जना घाइतेको सल्यानमै उपचार जारी रहेको छ। बसमा ३० यात्रु सवार रहेका थिए। चालक फरार भएको प्रहरीले जनाएको छ ।

सडकको खराब अवस्था र तीब्र गतिका कारण बस दुर्घटनामा परेको अनुमान प्रहरीको छ। सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नम्बरको बस आइतबार बिहान पौने ११ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ५ खारखोला नजिकै दुर्घटनामा परेको थियो।