केपि कुमार जलन/
काठमाडौं । नेपाली चलचित्र तथा म्युजिक भिडियो क्षेत्रका चर्चित मोडल तथा निर्देशक शंकर बीसीले बुवा–आमाप्रतिको आफ्नो प्रेम र सम्मानलाई विशेष रूपमा व्यक्त गरेका छन्। हाल अमेरिकामा रहेका बीसीले बुवा–आमाका लागि गाउँमा नयाँ घर उपहारस्वरूप समर्पण गरेको बताएका छन्।

बुवा–आमालाई कसरी खुसी बनाउने र उनीहरूको ओठमा मुस्कान छर्ने भन्ने सपना बाल्यकालदेखि नै रहेको स्मरण गर्दै बीसीले आफ्नो संघर्षपूर्ण यात्रा सुनाएका छन्। नेपालगन्जको एक सामान्य परिवारमा जन्मिएका उनले २०५१ सालमा एसएलसी दिएपछि काठमाडौं आएर नृत्य प्रशिक्षण सुरु गरेका थिए।
सानैदेखि नृत्यमा रुचि राख्ने बीसीले नेपाली चलचित्रका करिब ७० वटा चलचित्रमा कोरस नृत्य गरेका थिए। लामो संघर्षपछि सहायक निर्देशक हुँदै निर्देशकको यात्रा तय गरेका उनी २०६०/६१ सालतिर कृष्ण फिल्म्समा आबद्ध भएका थिए।
मोडल तथा निर्देशकका रूपमा सक्रिय बीसीको करियरलाई ‘सुपारी चाम्रो’ गीतले नयाँ उचाइमा पुर्याएको थियो। त्यसपछि लालुपाते नुग्यो भैतिर, नजाऊ है सानु पँधेरीमा, तिते करेलीले, पछ्यौरी लेउ बैना, देउरालीको भट्टी पसल, रातो पछ्यौरी लगायतका चर्चित गीतसँग उनको यात्रा जोडिँदै गयो।
कलाकारितामा संघर्ष गरिरहेका बेला बुवा–आमाले विदेश जान र अर्को काम गर्न सुझाव दिए पनि आफूले कलाकारितामै केही गरेर देखाउने अठोटका साथ निरन्तर मेहनत गरेको बीसीले बताएका छन्।
बुवा–आमाको माया, आशीर्वाद र आफ्ना शुभचिन्तकको साथकै कारण आज यो स्थानसम्म आइपुगेको भन्दै उनले बुवा–आमाका लागि नयाँ घर उपहारस्वरूप समर्पण गरेका छन्।
हाल अमेरिकामा रहेका मोडल तथा निर्देशक शंकर बीसीको यो भावुक अभिव्यक्तिले बुवा–आमाप्रतिको सम्मान र संघर्षपछि सफलताको सुन्दर उदाहरण प्रस्तुत गरेको छ।


















