लामो समयदेखि उद्घोषणामा सक्रिय शितल शर्मा ‘५औँ म्युजिक खबर तीज म्युजिक अवार्ड–२०८३’ मा सम्मानित

केपि कुमार जलन/
काठमाडौं । नेपाली गीत–संगीत तथा सांस्कृतिक कार्यक्रमको क्षेत्रमा लामो समयदेखि सक्रिय उद्घोषिका तथा गायिका शितल शर्मा सम्मानित भएकी छन्। राजधानीमा आज आयोजित ‘५औँ म्युजिक खबर तीज म्युजिक अवार्ड–२०८३’ समारोहका अवसरमा शर्मालाई सम्मान गरिएको हो।

Artist of Nepal को प्रस्तुतिमा आयोजित उक्त कार्यक्रममा नेपाली तीज गीत तथा संगीत क्षेत्रमा योगदान पुर्‍याउँदै आएका विभिन्न श्रष्टा, कलाकार तथा स्रष्टालाई सम्मान एवं पुरस्कार प्रदान गरिएको थियो। सोही विशेष समारोहमा लामो समयदेखि उद्घोषिका तथा गायिकाका रूपमा नेपाली सांस्कृतिक क्षेत्रमा सक्रिय रहँदै आएकी शर्मालाई पनि उनको योगदानको कदर गर्दै सम्मान गरिएको हो।

विभिन्न मेला, महोत्सव, सांस्कृतिक तथा सांगीतिक कार्यक्रमहरूमा कुशल उद्घोषणामार्फत आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल शितल शर्माले नेपाली कला–संस्कृति र मनोरञ्जन क्षेत्रसँग निरन्तर सहकार्य गर्दै आएकी छन्। उनको स्पष्ट प्रस्तुति, आत्मविश्वासी शैली र दर्शक–श्रोतासँग सहज रूपमा जोडिने क्षमताले उनलाई एक सफल उद्घोषिकाका रूपमा स्थापित गरेको छ।

उद्घोषणाको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आफ्नै मेहनत र प्रतिभाका कारण पहिचान बनाउन सफल शर्मालाई ५औँ म्युजिक खबर तीज म्युजिक अवार्ड–२०८३ मा गरिएको सम्मानले उनको कला यात्रामा थप उत्साह र ऊर्जा प्रदान गरेको छ।
२०८३ भदौ २६ गते बिहीबार काठमाडौंको क्रिस्टल पार्टी प्यालेस, बिजुलीबजारमा आयोजित उक्त भव्य समारोहमा तीज विशेष सांगीतिक कार्यक्रमसँगै विभिन्न विधाका कलाकार तथा श्रष्टालाई सम्मान गरिएको थियो।

सम्मान ग्रहण गरेपछि शितल शर्माको यो उपलब्धिलाई उनका शुभेच्छुक, सहकर्मी तथा सांगीतिक क्षेत्रका व्यक्तित्वहरूले समेत खुसीका साथ स्वागत गरेका छन्। लामो समयदेखि मञ्च उद्घोषणालाई आफ्नो कर्म र पहिचान बनाउँदै आएकी शर्माका लागि यो सम्मानलाई उनको मेहनत, निरन्तरता र सांस्कृतिक क्षेत्रप्रतिको समर्पणको कदरका रूपमा हेरिएको छ