पार्टीको अभिभावक बनेर बस्न ओलीलाई भीम रावलको आग्रह

काठमाडौं मंसिर ५ 
नेकपा एमाले उपाध्यक्ष डा.भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई १० औं महाधिवेशनमा उम्मेदवारी नदिन आग्रह गरेका छन् ।

रिपोट्स क्लवमा आफ्नो अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्दै रावलले ओलीलाई १० औं महाधिवेशनपछि नेतृत्व हस्तान्तरण गरेर अभिभावकीय जिम्मेवारी बहन गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष ओलीले ७० वर्षको उमेरसम्म आइपुग्दा पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्री समेत भई महत्त्वपूर्ण जिम्मेवारी बहन गरिसकेको भन्दै उनले भने, उहाँले देश र जनताको लागि गर्नसक्ने काम आफ्नो सम्पूर्ण क्षमता, योग्यता, सक्रियता र लगनका साथ गर्दै देश र जनता सबैले देखिसकेका छन् ।

उहाँ स्वयंले केही समय पहिले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा प्रतिस्पर्धा नगर्ने घोषणा पनि गर्नुभएको हो ।

ओलीले गरेका कार्य र घोषणाको सम्म्मानको लागि पनि उमेर र अनुभव लगायत सबै दृष्टिबाट परिपक्क्क भइसकेकाले आफूले केन्द्रीय कमिटीको अध्यक्ष पदका लागि अग्रसर हुनु उचित सम्झेको बताए ।

आफूले अध्यक्ष पदको जिम्मेवारी पाए अध्यक्ष ओलीको महत्त्वपूर्ण अनुभव, ज्ञान र दक्षतालाई पार्टीको विकास, विस्तार र सफलताका लागि सदुपयोग गरिने उनको भनाइ छ ।