विद्यालय नै बन्द गरेर कांग्रेसको अधिवेशन चुनाव

काठमाडौं,मंसिर ७:  सुर्खेतमा विद्यालय नै बन्द गरेर राजनीतिक दलको चुनाव गरिएको छ । पञ्चपुरी नगरपालिका वडा नं ५ बावियाचौरमा रहेको विद्या ज्योति माविमा नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनको चुनाव गरिएको हो ।

विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिकामा विद्यालय हाताभित्र दलगत राजनीतिक गतिविधि, आमसभा, गोष्ठी, अभिमुखीकरण, तथा दलगत राजनीतिक तथा अन्य सभा सम्मेलन गर्न नपाइने र दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द गर्न नपाइने उल्लेख छ । तर त्यो निर्देशिकालाई बेवास्ता गर्दै सुर्खेतमा दलको चुनाव गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक कृष्ण सापकोटाले स्थानीय बिदा भएकाले त्यही समयमा चुनाव भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय बिदा थियो । पढाइ नै बन्द भएको होइन । बिदाको समयमा कार्यक्रम भएको हो ।

स्कुलले पनि स्थानीय बिदा दिन पाउने अधिकार छ नि फेरि मेयरसाबले नै गर्नुपर्छ भनेपछि हाम्रो के लाग्छ र

नगरपालिकाले स्थानीय बिदा दिएर विद्यालयमा राजनीतिक दलको चुनाव गरेपछि विरोध भएको छ । नेकपा माओवादी केन्द्र पञ्चपुरीले प्रेस विज्ञप्ति नै निकालेर गम्भीर ध्यानाकर्षण जनाएको छ । (फोटो साभार:उज्यालो )