बसोबाँस गरिरहेकै स्थानमा मतदाता नामावली नाम दर्ता गर्न दिने निर्वाचन आयोगको तयारी

काठमाडौं, मंसिर ८ : के तपाई आफ्नो जन्मस्थान भन्दा बाहिर हुनुहुन्छ वा गृहजिल्लामा नभएको कारण मतदाता नामावलीमा आफ्नो नाम छुट्ने चिन्तामा हुनुहुन्छ ? यी सबै समस्या आफु हाल बसोबास गरिरहेकै ठाँउमा हुने भएकोले निर्वाचन आयोगले निश्चिन्त हुन आग्रह गरेको छ।

आयोगका अनुसार उसले सङ्कलन गर्ने मतदाता नामावलीमा नाम दर्ता गराउनैका लागि मतदाताहरू आआफ्नो जिल्ला नै जानुपर्ने झन्झट अब हट्ने भएको छ।

यसअघि मतदान गर्नका लागि मात्रै नभई मतदाता नामावलीमा दर्ता हुनका लागि पनि मतदाताहरू साबिककै जिल्ला धाउनुपर्ने बाध्यता थियो।

“अब त्यो अवस्थाको अन्त्य हुँदैछ। अस्थायी रूपमा आफू बस्दै आएको जिल्लाको निर्वाचन कार्यालयमा गएर मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने,” आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारि दिएका छन।

नाम कसरी दर्ता गराउने ?
त्यसका लागि सम्बन्धित व्यक्ति आफ्नो नागरिकताको प्रमाणपत्र लिएर जिल्ला निर्वाचन कार्यालय जानुपर्ने हुन्छ।

आयोगले यही मंसिर महिनाको मध्यबाट आरम्भ हुनेगरी त्यस्तो व्यवस्था मिलाउन लागेको सहायक प्रवक्ता धमलाले बताए।

“त्यसो गर्न लाग्नुको उद्देश्य मतदान गर्न योग्य हुँदाहुँदै जिल्लाबाहिर भएकोले मतदाता नामावलीमा नाम लेखाउन छुटेर मतदानबाट कोही पनि वञ्चित नहोऊन् भन्ने हो,” उनले भने।

साथै निर्वाचन आयोगले मंसिर १७ गतेबाटै मतदाता नामावली दर्तासम्बन्धी एकमहिने विशेष अभियान पनि सञ्चालन गर्न लागेको छ।