अध्यक्षमा पराजित भए पार्टीका कुनै कमिटीमा नबस्ने भीम रावलको घोषणा

काठमाडौं मंसिर १४ :  नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीका कुनै कमिटीमा नबस्ने घोषणा गर्नुभएको छ । अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका रावलले आफू त्यो पदमा विजयी नभए स्वतः पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिनुभएको हो ।

आज मङ्गलवार चितवनको सौराहामा नेतृत्व चयनका लागि भएको मतदान सकिए लगत्तै उहाँले सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा आफूले केन्द्रीय कमिटीको सदस्यका लागि उम्मेदवारी नदिएको दोहोर्‍याउँदै त्यसमा शपथ लिन नसक्ने पनि स्पष्ट पार्नुभयो ।

अध्यक्षका उम्मेदवार रावलले भन्नुभयो, ‘मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छैन । अध्यक्ष पदमा विजय भए शपथ लिन्छु, अरूमा त मैले भरेकै छैन । अब प्रतिनिधिहरूले मत दिएनन् भने त कमिटी बाहिर बस्ने कुरा त सामान्य नै हो नि मेरा लागि । त्यो त केही छैन ।’