कर्णालीका मुख्यमन्त्री शाहीले प्राप्त गरे विश्वासको मत

काठमाडौै मंसिर १५ : सिमकोट – कर्णाली प्रदेशसरकार मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री शाहीले बुधबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका हुन्।

मंगलबारको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतका लागि प्रस्ताव राखेका थिए । उनले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा २२ मत परेको छ। मुख्यमन्त्री शाहीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एक मात्र रहेको मत पनि उनले प्राप्त गरेका हुन्।

कर्णाली प्रदेश सभामा राप्रपाका १ जना प्रदेशसभा सदस्य छन्। बैठकमा भने प्रमुख प्रतिपक्ष दल एमाले उपस्थिति रहेन।

महाधिवेशनका कारण एमाले सांसद बाहिर भएकाले अनुपस्थित भएको बताइएको छ। त्यसैले मुख्यमन्त्री शाहीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा शुन्य मत परेको छ। कात्तिक १६ गते तीन दलको गठबन्धनबाट कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाही मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनलाई कांग्रेससहित नेकपा ९माओवादी केन्द्र०, नेकपा (एकीकृत समाजवादी) को समर्थन छ।

कर्णाली प्रदेशमा ३५ जना प्रदेशसभा सदस्य छन्। प्रदेशसभामा एमालेको १३, माओवादी केन्द्रको १२, कांग्रेसको ६ र राप्रपाका एक जना प्रदेशसभा सदस्य छन्। मुख्यमन्त्री शाहीले प्रदेशसभा बैठकमा कर्णालीको गरिबी अन्त्य गर्न सबैसँग सहकार्य गरेर अघि बढ्ने बताए।