बेलहिया बुटवल ६ लेन सडक अन्तर्गत रूपन्देहीको तिलोत्तमा नगरपालिकामा जडान गरिएको ट्राफिक लाइटको प्रभावकारिता बढेपछि भैरहवाको मुख्य बजारको सडक चोकमा पनि ट्राफिक लाइट जडान गर्न थालिएको छ।
सवारी साधनको बढी आवतजावत हुने भैरहवाको मुख्य बजार क्षेत्रको बुद्धचोक र देवकोटा चोकमा आइतबार ट्राफिक लाइट जडान गरिएको हो।
सिद्धार्थनगर नगरपालिकाले आफ्नै लगानीमा जडान गरेको ट्राफिक लाइटको नगर प्रमुख हरि अधिकारी र उपप्रमुख उमा काफ्ले र रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले आइतबार उद्घाटन गरेका हुन्।
नगरपालिकाका प्रमुख अधिकारीले भारतीय सीमा नजिक रहेको र नगरमा सवारी साधनको चाप बढ्दै गएको कारण सवारी आवागमनलाई व्यवस्थित गर्न ट्राफिक लाइट जडान गरिएको बताए।
‘नजिकै भारतीय सीमानाका बेलहिया रहेको र बुद्ध जन्मस्थल लुम्बिनी जाने मुख्य सडक समेत बुद्धचोक, देवकोटा चोक नै रहेकोले यहाँ सवारी साधनको चाप अत्यन्त बढी छ, यसलाई व्यवस्थित गर्न ट्राफिक लाइट जडान गर्नु अनिवार्य थियो, उनले भने।
सिद्धार्थनगर नगरपालिकाले चालु आर्थिक वर्षको बजेट बनाउँदा नै भैरहवाको देवकोटा चोक र बुद्धचोकमा ट्राफिक लाइट जडानका लागि बजेट छुट्याएको थियो।
सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ इञ्जिनियर जीवन अर्यालले करिब ४१ लाख रुपैयाँको लागतमा बुद्धचोक र देवकोटा चोकमा ट्राफिक लाइट जडान गरिएको बताए।
लाइट जडान गरिएको दुइटै चोक भैरहवाका अत्यन्त व्यस्त क्षेत्र हुन्।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले ट्राफिक लाइटले सडक प्रयोगकर्ताहरूलाई अनुशासन पालना गर्न बाध्य पार्ने भएकोले सवारी साधनका कारण सडकमा हुने भिड कम गर्ने र दुर्घटना न्यूनीकरणमा सघाउ पुग्ने बताए।