हिमाली जिल्ला मुस्ताङ अस्पतालमा अब नवौं तहको चिकित्सक

मंसिर २८ : जोमसोम , दुर्गम जिल्लाको रुपमा परिचित हिमाली जिल्ला मुस्ताङले नवौं तहको चिकित्सक पाउने पक्का भएको छ।

मुस्ताङको जोमसोम अस्पतालका लागि पहिलोपटक एमडी उर्तीण नवौं तहको चिकित्सक खटाइँदै छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुस्ताङका लागि करारमा एमडी उर्तीण चिकित्सक खटाउने अन्तिम तयारी गरेको जनाइएको छ। खटाइका चिकित्सकलाई दुई वर्ष अनिवार्य सेवा गर्नुपर्ने सम्झौतासहित मन्त्रालयले मुस्ताङ पठाउने तयारी गरेको हो।

संघीयतापछि अस्पतालमा न्यूनतम स्वास्थ्य उपकरण तथा पूर्वाधार फराकिलो बन्दै गए पनि दक्ष चिकित्सकीय सेवा नहुँदा मुस्ताङका सेवाग्राहीको महङ्गो शुल्क खर्चिएर जिल्ला बाहिर उपचार गर्नुपर्ने बाध्यता थियो। अस्पतालले भरपर्दो र विश्वसनीय चिकित्सकीय सेवाका लागि नवौं तहको चिकित्सक माग गर्दै मन्त्रालयमा पत्रचार गरेको थियो।

ढिलै भए पनि मन्त्रालयले नेपाल सरकारबाट छात्रवृति प्राप्त नवौं तहका एमडी उर्तीण चिकित्सक महोत्तरीका डा।कुन्दन कर्णलाई मुस्ताङमा खटाउन लागेको अस्पतालका निमित्त मेसु एकराज बस्नेतले जानकारी दिए।‘मुस्ताङमा नवौं तहको चिकित्सक आउँदै हुनुहुन्छ, उहाँलाई मन्त्रालयले पठाउन लागेको होु, उनले भने,‘उहाँ पुस १ गते मुस्ताङ आउँदै हुनुहुन्छ। त्यसपछि अस्पतालको नियमित सेवा फराकिलो बन्नेछ।’

मुस्ताङमा नवौं तहको चिकित्सक आउने भएपछि मुस्ताङका स्थानीय उत्साहित बनेका छौं। नवौं तहको चिकित्सक आएपछि भरपर्दौ स्वास्थ्य सुविधा पाउने उनीहरुको अपेक्षा छ। मुस्ताङ जिल्ला अस्पतालामा नेपाल सरकारबाट छात्रवृति प्राप्त करारका आठौं तहका चिकित्सक मार्फत सेवा दिइने गरिएको थियो। पछिल्लो समय करारका आठौं तहका चिकित्सक समेत थिएनन्।

अहिले अस्पतालमा आठौं तहका करारका २ जना चिकित्सक छन्। नवौं तहको चिकित्सकको आगमनपछि सामान्य अप्रेसनको सुविधा अस्पतालले नै उपलब्ध गराउन सक्ने निमित्त मेसु बस्नेतले उल्लेख गरे। उनले हर्निया, प्रसुती लगायतका अप्रेसनको काम हुने बताए।

सरकारले छात्रवृति सेवा मार्फत चिकित्सक बनेकालाई दुई वर्ष करारमा अनिवार्य सेवा गर्नुपर्ने प्रावधान तोकेको छ। यसै क्रममा नवौं तहका चिकित्सक कुन्दन कर्णलाई पनि करारमा मुस्ताङ खटाइने भएको हो।

मुस्ताङ जिल्ला अस्पतालमा आवश्यक श्रोत साधन उपलब्ध भए पनि नवौं तहको चिकित्सक नहुँदा अस्पतालमा रहेको आइसीयु र भेन्टिलेटर उपकरण स्टोरमै थन्किन पुगेको थियो। अस्पतालका अनुसार चालु वर्षका लागि गण्डकी प्रदेश सरकारले बिरामी अपरेशन थिएटरका लागि पूर्वाधार निर्माण गर्न ५० लाख बजेट बिनियोजन गरेको छ। कोरियन शैलीमा निर्माण हुने उक्त संरचना चाडै बन्ने निमित्त मेसु बस्नेतले जानकारी दिए।