पौस १८ : आगामी माघ १२ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा तीन सिटमा चुनाव हुने भएको छ । राष्ट्रियसभाको चार वर्षको पदावधि पूरा गरी आगामी फागुनमा बिदाई हुने सदस्यको खाली हुने स्थानमा निर्वाचन आयोगले निर्वाचन गर्न लागेको हो ।
गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का दुई र नेकपा (एकीकृत समाजवादी) का एक गरी तीन सिट खाली हुने भएपछि सो सिटमा निर्वाचन हुन लागेको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।
माओवादीबाट दीनानाथ शर्मा ‘अन्य समूह’ र खिमकुमार विक ‘दलित’ समूहबाट राष्ट्रियसभामा निर्वाचित हुनुभएको थियो । यसैगरी एकीकृत समाजवादीका शान्तिकुमारी अधिकारी ‘महिला कोटा’मा निर्वाचित हुुनुभएकामा उहाँहरुको चार वर्षे पदावधि आगामी फागुनमा पूरा हुन लागेकाले निर्वाचन प्रक्रिया सुरु गरिएको प्रदेश निर्वाचन अधिकृत एवं कार्यालयका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्वाचन तयारीका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना, मतदाता नामावली प्रकाशन, नामावली उपर दाबी विरोधलगायतका कार्यक्रम सम्पन्न भएका छन् ।
यही पुस २० गते उम्मेद्वारको मनोनयन दर्ता हुने प्रमुख पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो,“राष्ट्रियसभा सदस्यको निर्वाचन तयारी भइरहेको छ, शनिबार मतदाता नामावली प्रकाशन ग¥र्यो, कसैको पनि दाबी विरोध परेको छैन । पुस २० गते उम्मेदवारको मनोनयन दर्ता गरिनेछ ।”