माघ २ : लमजुङमा यसवर्ष अलैंची उत्पादनमा कमी आएको छ , आवश्यकता अनुसार समयमा पानी नपर्नु, मौसम अनुकूल नहुनु, बोटमा कीरा लाग्नु र बोट सुक्नुलगायतका कारणले यो वर्ष अलैंची उत्पादनमा कमी आएको हो ।
गत वर्षको तुलनामा यो वर्ष करिब ८५ प्रतिशतले उत्पादनमा कमी आएको नेपाल अलैँची जोन कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष जिल्लामा ४०० मेट्रिक टन अलैँची उत्पादन भएको थियो । यस वर्ष अलैंचीको उत्पादन घटेर ३५ मेट्रिक टनमा सिमित भएको छ । गत वर्ष अलैंचीको विक्रीबाट रु १८ करोड २० लाख आम्दानी गरेका किसानले यो वर्ष रु तीन करोड ५० लाख मात्र आम्दानी गर्न सकेको कार्यालयले जनाएको छ ।
यसवर्ष रोग प्रकोप, जलवायु परिवर्तन, सिँचाइको कमीलगायतका कारण अलैँची उत्पादनमा भारी गिरावट आएको नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेशका संयोजक तथा जिल्ला अध्यक्ष अजय तामाङले बताउनुभयो । मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका अलैँची किसानसमेत रहनुभएका संयोजक तामाङले गत वर्ष ४५० केजी अलैँची दाना उत्पादन भएकोमा यो वर्ष २०० केजी मात्र उत्पादन भएको बताउनुभयो ।
त्यस्तै, बेँसीशहर नगरपालिका–१० खाँचेका अलैँची किसान सोमबहादुर तामाङको पनि समस्या तथा उत्पादन उस्तै उस्तै भएको छ । तामाङले गतवर्ष करिब २०० किलो अलैँची दाना उत्पादन गरेको र योवर्ष भने जम्मा ३२ किलो मात्र अलैँची उत्पादन भएको बताउनुभयो । अलैँची उत्पादन घटेपनि मूल्य भने वृद्धि भएको छ ।
व्यवसायिक खेती हुँदै आएको लेकाली क्षेत्रहरूमा अलैंची उत्पादनमा गिरावट आएसँगै मूल्यमा समेत गिरावट हुँदा किसानहरु निराश बनेका छन् । दशकअघि प्रतिकेजी रु २ हजार ५ सयसम्म रहेको अलैंचीको मूल्य अहिले प्रतिकिलो रु आठ सयदेखि नौ सयको हाराहारीमा छ ।
जिल्लामा विसं २०४१ बाट अलैँची खेती विस्तार भएदेखि किसान यस पेशाप्रति आकर्षित हुँदै आएको छ । वि.संं २०७६ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची दाना बिक्री गरेर किसानले रु १२ करोड आम्दानी गरेका थिए । यसैगरी विसं २०७५ मा ७५० क्विन्टल अलैँची दानाको बिक्रीबाट रु पाँच करोड २५ लाख र विसं २०७४ मा ६०० क्विन्टल अलैँची दाना बिक्रीबाट रु चार करोड ४८ लाख आम्दानी गरेको थियो । जिल्लामा हाल एक हजार ५०० हेक्टर क्षेत्रफल जमिनमा अलैँची खेती हुँदै आए पनि एक हजार २०० हेक्टर क्षेत्रफलमा मात्र उत्पादन हुँदै आएको छ ।
लमजुङको १२ सय मिटरभन्दा माथिल्लो भागमा व्यवसायिक अलैंची खेती हुने गरेको छ । जिल्लामा २० हजारभन्दा बढी कृषकले व्यवसायिक अलैंची खेती गर्दै आएका छन् । जिल्लामा लगाइएको अलैँचीका दानाको माग उच्च रहँदै आएको छ । जिल्लामा उत्पादित अलैँचीका दाना भारतहुँदै विभिन्न देशमा पुग्ने गरेको छ । अलैँची व्यवसायमा जिल्लाका किसानको भविष्य राम्रो रहेको छ ।